सुचना, समाचार र मनोरन्जन

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

 

बाँके : बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्ने राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

 

नरैनापुर गाउँपालिका–६ गंगापुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको गंगापुर जोड्ने राप्ती नदीमा पुल नबन्दा यस क्षेत्रका हजारौँ नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको बताए।

 

उनका अनुसार राप्तीपारिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दा खेतबारीको काम, आफन्त भेटघाट तथा हाटबजारका लागि दैनिक रूपमा डुङ्गा चढेर नदी वारपार गर्ने गर्छन्। राप्तीसोनारी गाउँपालिका–७ को खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दाले नियमित रूपमा डुङ्गा प्रयोग गर्दै आएका छन्।

 

राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडिया नयाँबस्तीका शंकर यादवले पक्की पुल प्रयोग गर्न सिधनियाघाट पुग्न निकै टाढा पर्ने भएकाले डुङ्गा चढ्नु बाध्यता भएको बताए। नदी तटीय क्षेत्रका नागरिकको खेतीपाती पनि राप्ती नदी वारि र पारि हुने भएकाले यतिबेला धानको बीउ रोप्ने कामका लागि पनि डुङ्गाबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए।

 

“नदी तर्न पक्की पुलसम्म पुग्न धेरै टाढा जानुपर्छ। यता झोलुङ्गे पुल पनि छैन, त्यसैले डुङ्गा चढ्नुको विकल्प छैन,” उनले भने, “हिउँद होस् वा वर्षात्, हामी डुङ्गाबाटै राप्ती नदी वारपार गर्नुपर्ने बाध्यता छ।”

 

डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, बोर्डर चौफेरी, छिटइपूर्वा, टेपरी, पिप्रहवा, खडैचा, कन्दइपूर्वा, सन्तलिया र नयाँबस्तीका सयौँ बासिन्दाका लागि डुङ्गामार्फत राप्ती नदी वारपार गर्नु दैनिकी बनेको स्थानीय अगुवा झगरु लोनियाले बताए।

 

हिउँदमा नदीमा पानी कम हुने भएकाले डुङ्गा यात्रा सहज हुने भए पनि वर्षायाममा राप्ती नदीमा बाढी आउने भएकाले नदी वारपार गर्न निकै जोखिम हुने गरेको उनको भनाइ छ।

 

नदी वारपारका लागि खल्ला झगडिया गाउँनजिकै डुङ्गा सधैँ तयारी अवस्थामा राखिएको हुन्छ। डुङ्गाचालक नानबाबु पासीका अनुसार नदी तारेबापत प्रतिव्यक्ति १० रुपैयाँ शुल्क लिने गरिएको छ। गाईभैँसीका लागि २० रुपैयाँ, साइकलका लागि १५ रुपैयाँ र मोटरसाइकलका लागि ६० रुपैयाँ शुल्क लाग्छ। एकपटकमा ५० देखि ६० जनासम्म यात्रु तथा मालसामान नदी पार गराउन सकिने उनले बताए।

 

हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा किनमेलका लागि नेपाली गाउँका सयौँ नागरिक पुग्ने गर्छन्। डुडुवा गाउँपालिकाको होलिया, बेतहनी तथा राप्तीसोनारीको फत्तेपुर, नरैनापुरको गंगापुर र मटेहियालगायत क्षेत्रका बासिन्दा डुङ्गा तरेर हाटबजार जाने गरेका छन्।

 

भारतीय बजारमा तरकारी तथा अन्य उपभोग्य वस्तु तुलनात्मक रूपमा सस्तो पाइने भएकाले धेरै स्थानीय त्यहाँ किनमेलका लागि जाने गरेको डुङ्गाचालक पासीले बताए।

 

तटीय क्षेत्रका नागरिकले राप्ती नदीको डुबान, कटान र जोखिमपूर्ण यात्रा समस्याको दीर्घकालीन समाधानका लागि मटेहिया र होलियालाई जोड्ने पुल निर्माणको माग गर्दै आएका छन्।

 

बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणको योजना कार्यान्वयनका लागि आफूले पहल गरिरहेको बताए।

Leave A Reply

Your email address will not be published.