सुचना, समाचार र मनोरन्जन

रास्वपा महाधिवेशन: मतदान प्रणालीप्रति आफ्नै सांसदहरूको गम्भीर असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो महाधिवेशनमा मतदान प्रक्रिया र व्यवस्थापनलाई लिएर पार्टीभित्रै असन्तुष्टि सुरु भएको छ।

पोखरा,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो महाधिवेशनमा मतदान प्रक्रिया र व्यवस्थापनलाई लिएर पार्टीभित्रै असन्तुष्टि सुरु भएको छ। केन्द्रीय सदस्य चयनका लागि भइरहेको निर्वाचन प्रणालीप्रति पार्टीका प्रतिनिधि सभा सदस्य (सांसद) हरूले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन्। विशेषगरी, मतदानमा ‘नो भोट’ (No Vote) को अधिकार मर्नुको साथै आफ्नै प्रतिष्पर्धीलाई समेत अनिवार्य भोट हाल्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको भन्दै नेताहरूले प्रश्न उठाएका छन्।

भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित सांसद राजीव खत्रीले मतदान व्यवस्थापनको कडा आलोचना गर्दै यसलाई ‘नो भोट’ को उपहास भनेका छन्। उनले आफ्नो फेसबुकमा संसारमा कहीं पनि आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्ने व्यवस्था नहुने उल्लेख गर्दै यहाँ ‘नो भोट’ को धज्जी उडाइएको टिप्पणी गरे। सांसद खत्रीको यो भनाइमा केन्द्रीय सदस्यका अर्का उम्मेदवार यदु कुमार गिरीले पनि ऐक्यबद्धता जनाउँदै आफूहरू जस्ता नयाँ उम्मेदवारले आफ्नै प्रतिद्वन्द्वीलाई भोट हालेर चुनाव लड्नुपरेको पीडा पोखेका छन्।

यस्तै, रास्वपाका अर्का प्रखर सांसद धनञ्जय रेग्मीको असन्तुष्टि भने महाधिवेशनको समग्र व्यवस्थापन र पदाधिकारीहरूको कार्यशैलीप्रति लक्षित देखिएको छ। भरतपुरमा देखिएको लथालिङ्ग अवस्थाले अन्तर्राष्ट्रिय जगत्मा पार्टीको छवि धमिल्याएको उल्लेख गर्दै स्याङ्जा १ बाट निर्वाचित सांसद रेग्मीले वर्तमान पदाधिकारीहरूको कार्यशैलीले रास्वपाको बेइज्जत गरेको बताए। पार्टी नेतृत्व र प्रणालीको विरुद्धमा बोल्दा महाधिवेशनमा आफू पराजित हुन सक्ने सम्भावना रहेको स्वीकार गर्दै उनले यस्तो बेथिति गरेर देश चलाउन नसकिने भन्दै नेतृत्वलाई सचेत गराएका छन्।

पार्टीभित्र ‘सिस्टम’ र आन्तरिक लोकतन्त्रको वकालत गर्दै उदाएको रास्वपाका लागि आफ्नै पहिलो महाधिवेशनमा जननिर्वाचित प्रतिनिधिहरूबाटै यस्तो प्रश्न उठ्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। नयाँ र फरक सोचसहित अघि बढेको दलभित्र देखिएको यो आन्तरिक बहसले आगामी दिनमा नेतृत्व चयन र पार्टीको आन्तरिक लोकतन्त्रलाई अझ परिपक्व बनाउन दबाब दिने देखिन्छ।

Leave A Reply

Your email address will not be published.