सुचना, समाचार र मनोरन्जन

रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु हुँदै

काठमाडौँ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको निर्णयअनुसार सोमबारदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्न लागेको छ।

निर्णयको बुँदा नम्बर ७ मा मन्त्रीहरूसँग प्रत्यक्ष संवाद गरिने भनिएको थियो । सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन, महिनाको कम्तीमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय गरिएको थियो ।

जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम भदौ १ देखि सुरु गर्न लागिएको सहमहामन्त्री असिम शाहले जानकारी दिए । लोकतन्त्रको मर्म अनुसार निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले यस कार्यक्रम सुरु गर्न लागिएको शाहको भनाइ छ ।

उनका अनुसार यस कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनु पर्नेछ । जसले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको छ । शाहका अनुसार यस कार्यक्रम दुई चरणमा हुनेछ ।

कार्यक्रमअन्तर्गत भदौ ४ गते पार्टीका उपसभापति तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग विविध विषयमा विशेष छलफल हुने भएको छ। उक्त विशेष छलफल भदौ ४ गते साँझ ५ः०० बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना हुने जानकारी पार्टीले दिएको छ।

पार्टीले नागरिकका चासो र सुझावलाई नीति निर्माणसँग जोड्ने उद्देश्य राखेको छ। साथै, नेतृत्वसँग प्रत्यक्ष संवादको वातावरण बनाउन यो ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.