काठमाडौँ/
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गण्डकी प्रदेशमा आयोजना हुने कार्यक्रमहरू तय गरेको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस २०८३’ को आयोजक समितिको संयोजक कवीन्द्र बुर्लाकोटीले बुधबार सातै प्रदेशमा युवा दिवस मनाउने पार्टी निर्णय अनुसार गण्डकी प्रदेशको कार्यक्रम तय भएको बताए ।
बुर्लाकोटीका अनुसार गण्डकी प्रदेश समितिले युवा संवाद कार्यक्रम राखेको छ । यसैगरी कास्की जिल्ला समितिले बृहत् सरसफाइ, नीति मन्थन, जेनजी आन्दोलनका क्रममा थुनिएका कैदीबन्दीसँग भेटघाट कार्यक्रम छ । यस्तै अन्य पालिका र जिल्ला समितिले युवा प्रोत्साहन कार्यक्रम, रक्तदान, वृक्षारोपण, लागूपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम राखिएको छ ।
संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ। गत श्रावण १३ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरी केन्द्रीय सदस्य एवं पार्टीका पूर्व महामन्त्री बुर्लाकोटीलाई संयोजक तोकेको थियो ।
आयोजक समितिको सदस्यहरूमा केन्द्रीय सदस्य, सांसद एवं पार्टीका नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मन्जु सिंह, सागर भुसाल, जमुना शर्मा, अरविन शाह, हेमराज थापा, रोहन कार्की, मनिष खनाल, डा।नमिता यादव, नारदमणि बास्तोला, उदयनारायण सापकोटा, साजन शर्मा, किसान प्रसाद तिमल्सिना, राजु सुनार, शेख कसमुद्दिन, चन्दन कुमार ठाकुर, भरत केसी लगायत रहेका छन्। पार्टीले विभिन्न पालिका, जिल्ला, सातैवटा प्रदेश र केन्द्रीय तहमा युवा दिवस मनाउने तयारी गरेको छ।
श्रावण १५ गते सम्पन्न आयोजक समितिको पहिलो बैठकले साथै प्रदेशका सभापतिहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा पत्राचार गर्ने, साथै प्रदेशमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन समन्वय गर्ने सदस्यको जिम्मेवारी तोक्ने र उपसमिति निर्माण गर्ने निर्णय गरेको थियो ।