काठमाडौँ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा समसामयिक परिस्थिति र विपद् व्यवस्थापनको विषयमा छलफल गर्दै रास्वपाले सरकारको कामलाई अझै प्रभावकारी बनाउन मद्दत गर्ने निष्कर्ष निकालेको हो।
सचिवालय सदस्य लिमा अधिकारीले बैठकमा एकदेखि डेढ घण्टासम्म विपद् व्यवस्थापन र राहत वितरणकै विषयमा छलफल भएको जानकारी दिइन्। पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणालीमार्फत वितरण गर्ने रास्वपाको तयारी छ। ‘सरकारले काठमाडौँमा तोकेका चारवटा ठाउँमा ती सामग्री बुझाएर सरकारसँगै समन्वय गरेर अगाडि बढ्छौँ,’ अधिकारीले भनिन्।
उद्धार र तत्कालीन राहत वितरणको काम सकिएपछि पार्टीका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू सबै गुमाएका पीडितको घरदैलोमै पुग्ने योजना पार्टीले बनाएको छ। सर्वदलीय बैठकमा भएको सहमतिअनुसार प्रदेश र स्थानीय सरकारको समन्वयमा राहत वितरण गर्ने र त्यसमा रास्वपाले सरकारलाई नै सघाउने अधिकारीले स्पष्ट पारिन्।
बेसहारा बनेका नागरिकलाई सरकार आफ्नो साथमा रहेको महसुस गराउने गरी काम गर्नुपर्नेमा बैठकले जोड दिएको छ। बैठकमा बाढीपहिरो र विपद्का समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्रीले ब्रिफिङ गरेका थिए।
यसैगरी, सभापतिबाट मनोनयन भएका पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई बैठकमा शपथ ग्रहण गराइएको छ। अधिकारीका अनुसार बैठकमा बाँकी रहेका पदाधिकारीको विषयमा भने छलफल भएन।
पार्टीका आन्तरिक प्राविधिक विषय, पदाधिकारीको जिम्मेवारी हेरफेर, प्राविधिक मिलान र नयाँ प्रवक्ता तोक्ने लगायतका सामान्य विषयमा पनि बैठकमा छलफल भएको उनले बताइन्।