काठमाडौं :
नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरूले मात्र गाउने परम्परागत लोकगीत रत्यौली बाट प्रेरणा लिएर फिल्मको नाम राखिएको हो। यही कारणले गर्दा फिल्म सांस्कृतिक चेतनाले भरिएको हुने अपेक्षा गरिएको छ।
रन्जन रिजालको प्रस्तुतिमा बन्ने यस फिल्मबाट उनी निर्माण क्षेत्रमै डेब्यु गर्न लागेका हुन्। २०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौं भिडियोमा अभिनय गर्दै सशक्त छवि बनाएका छन्।
‘नाइ नभन्नु ल ३’ र ‘समर लभ’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका मुस्कान ढकाल ‘रत्यौली’ का निर्देशक हुन्। सम्भावना बोकेका युवा निर्देशक ढकाल यसपटक सांस्कृतिक र पारिवारिक कथामा आधारित फिल्म निर्देशन गर्दैछन्।
नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानी रहनेछ। फिल्मको छायांकन आगामी तिहार लगत्तै सुरु हुने निर्माण पक्षले जनाएको छ। साउन १६ गते, आज शुक्रबार, निर्माण टिमले फिल्मको शीर्षक सार्वजनिक गरेको हो। हाल कलाकार छनोट र प्राविधिक तयारीको काम अघि बढिरहेको छ।
फिल्मका प्रस्तुतकर्ता रन्जन रिजाल भन्छन्, “नेपाली दर्शकहरूले नेपाली परिवेश, भाषा र मौलिक कथावस्तुमा बनेका चलचित्र बढी रुचाउँछन्। त्यसैले हामीले दर्शकको चाहना अनुसार विषयवस्तु र प्रस्तुति तय गर्न थालेका हौं।”
निर्देशक मुस्कान ढकालका अनुसार, अहिले फिल्मको लोकेशन तथा कलाकारहरू फाइनल गर्ने प्रक्रिया अगाडि बढिरहेको छ। उनका अनुसार फिल्मले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको छ।