काठमाडौं :
लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’को टिजरले पूर्ण प्रेमकथाको संकेत गरेको छ। सार्वजनिक टिजरले चलचित्रको कथा प्रेम’ र ‘विवाह’ बीचको अन्तर र द्वन्द्वलाई केन्द्रमा राखेको छ। विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकालाई टिजरले प्राथमिकता दिएको छ ।
भावनात्मक अन्तरद्वन्द्व र सिनेमाको मुख्य ‘ट्विस्ट’ रहेको टिजरले संकेत गरेको छ। कवितात्मक लयबाट सुरु हुने टिजरमा संवाद छ, ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्,जसलाई मैले माया गरेको थिएँ ।’ यसले बाध्यता र विवशताको पनि संकेत गर्छ, जुन कुरा टिजरमा देखिने महिला पात्रहरू र मुख्य पुरुष पात्रको दृश्य, संवाद र अभिनयले पनि प्रस्ट पार्छ। टिजर अनुसार अभिनेता दिल श्रेष्ठको जीवनमा दुई युवतीको प्रवेश हुन्छ, नीति शाह र सृष्टि श्रेष्ठ। सुरुवातमा दील र नीतिको प्रेमलाई रोमान्टिक शैलीमा देखाइएको छ । उनीहरू सँगै हाँसेका, रमाएका र भविष्यको सपना बुनेका दृश्यहरू छन्। तर, कथामा यस्तो मोड आउँछ जहाँ दिल श्रेष्ठ विवाहको मण्डपमा त पुग्छन्, तर उनको अगाडि उनले चाहेकी प्रेमिका हुन्नन् ।
टिजरले दर्शकलाई एउटा प्रश्न छाडेको छ, के नीतिको ठाउँमा अचानक सृष्टिको प्रवेश भएको हो ? वा सृष्टि र नीति दिदी–बहिनी हुन् ? टिजरमा कलाकारहरू रोएको, मदनकृष्ण श्रेष्ठ गम्भीर मुद्रामा देखिएको र पारिवारिक तनावका दृश्यहरूले ‘बाध्यता’ वा ‘धोका’बीच विवाह भएको त होइन भन्ने आशंका गर्ने ठाउँ छोडेको छ। टिजरमा नीतिलाई चञ्चल र प्रेमिल अवतारमा देखाइएको छ। सृष्टि श्रेष्ठको भूमिका केही गम्भीर र रहस्यमय देखिएको छ । अर्की अभिनेत्री नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा नयाँ आयाम थपेको छ।टिजरले सिनेमाको कथा सरल रेखामा नबगेर प्रशस्त ट्विस्ट रहेको देखाएको छ, जसले दर्शकलाई बाँधेर राख्ने क्षमता राखोस्। निर्देशक रेखा थापाले यसअघिका चलचित्रमा ‘एक्सन’ र ‘नारी शक्ति’लाई बढी प्राथमिकता दिने गरे पनि यस पटक उनले ‘इमोसनल ड्रामा’लाई रोजेकी छिन्। टिजरमा प्रयोग गरिएका संवादहरू, ‘खुसी मेरो आँखामा देखियोस्, पीडा तिम्रो मनमा भए आँसु मेरै आँखाले बगाओस्’ ले चलचित्रमा इमोस्नल इलिमेन्ट रहेको दर्शाउँछ।
दिल श्रेष्ठले आफ्नो साँचो प्रेम पाउलान् वा उनले आफ्नो प्रेमको बलिदानी दिनेछन् ? यसको उत्तरका लागि भने फिल्म नै कुर्नुपर्नेछ। सुदीप बरालको सिनेमाटोग्राफीले हरेक दृश्यलाई जीवन्त बनाउने प्रयास गरेको छ। भदौ २६ गते रिलिज हुने यो चलचित्रले प्रेममा परेकाहरू मात्र होइन, परिवारका सदस्यहरूलाई पनि हलसम्म तान्ने निर्माणपक्षको दाबी छ। चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन्। यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ। ध्रुव लम्सालको पटकथा लेखन रहेको छ।सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन्। यो चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन्।