सुचना, समाचार र मनोरन्जन

‘रिमै’ फिल्ममार्फत गुरुङ संस्कृतिको दस्तावेज बन्ने दयाहाङ राईको विश्वास

काठमाडौं :

दयाहाङ राई नेपालका ती दुर्लभ कलाकारमध्ये एक हुन्, जसले आदिवासी जनजाति समुदायका कथामा आधारित मूलधारका फिल्ममा निरन्तर अभिनय गर्दै आएका छन्। राई, गुरुङ, लिम्बू, थारु लगायतका पात्रमा अभिनय गरिसकेका उनी आफूलाई ‘लक्की’ कलाकार ठान्छन्।

काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा दयाहाङले विभिन्न समुदायका कथा बुझ्ने अवसर फिल्ममार्फत पाएको बताएका छन्। उनले भने, “राई भएर राईसमेत पूर्ण रूपमा बुझ्न सकेको छैन, तर फिल्ममार्फत केही हदसम्म बुझ्न पाएको छु।”

उनले आफूले अभिनय गरेका पात्रलाई पूर्ण न्याय गर्न नसकेको स्वीकार गरेका छन्। “इमानदारीपूर्वक भन्नुपर्दा मैले पात्रलाई न्याय गर्न सकेको छैन,” दयाहाङले भने।

फिल्म ‘रिमै’मा उनले गुरुङ पात्रको भूमिका निर्वाह गरेका छन्। यो फिल्म गुरुङ समुदायको संस्कार र जीवनदर्शन प्रस्तुत गर्ने दस्तावेज बन्ने उनले विश्वास व्यक्त गरे।

उनले थपे,‘अहिले त यो फिल्म बन्यो । अब प्रदर्शन हुन्छ । धेरैका लागि यो सामान्य प्रक्रिया हो । तर, भोलिको पुस्ताले गुरुङ समुदायबारे बुझ्न खोज्दा यो फिल्म एउटा बलियो दस्ताबेज हुनेछ, जहाँबाट नयाँ जीवन दर्शन र विश्वास पद्धतिलाई देख्न सकिनेछ।’

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’मा रिश्मा गुरुङ,अर्पण थापा र गौमाया गुरुङको मुख्य भुमिका रहेको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्ट्याएको यस फिल्ममा वीरवल घले कार्यकारी निर्माता रहेको छन्। उनी फिल्मका कलाकार समेत हुन्। टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता रहेका छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा हुन्।

यस फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ। फिल्म यहि २० गतेबाट अल नेपाल रिलिज हुँदैछ।

Leave A Reply

Your email address will not be published.