काठमाडौं : मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढी, पहिरोलगायत मनसुनी विपद्का कारण सडक आवतजावतमा विराम लागेको हो ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेल ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ र काठमाडौंको नागार्जुन नगरपालिका–८ ठूलो खोलास्थित सितापाइला–धार्के सडकखण्ड, कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण बन्द भएका हुन् ।
बन्द सडक सञ्चालन गर्न विभागले डोजर, स्काभेटर, लोडरलगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ । प्रहरीले अवरुद्ध सडकको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा छ ।
यसैगरी, बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गरिने व्यवस्था गरिएको छ । कान्तिलोकपथअन्तर्गत हेटौँडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो (तातोपानी जाने बाटो) तथा कोदारी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।