सुचना, समाचार र मनोरन्जन

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

हुम्ला : कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन्।

पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुङ्गा सामान्य ‘स्काभेटर’ले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए।

उनले भने “ठूला ढुङ्गा खसेकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव देखिएन। ड्रिल मेसिन प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ।”

Gandarbha

उनका अनुसार विष्फोटनका लागि आवश्यक तयारी भइरहेको भए पनि मौसम तथा अन्य प्राविधिक अवस्थाले साथ दिएन भने सडक सञ्चालनमा ल्याउन करिब एक साता अझै लाग्न सक्ने देखिएको छ। यसको लागि आवश्यक बजेटको समेत व्यवस्थापन गर्नुपर्ने भएको छ यद्यपि आयोजना कार्यालयले सडक खुलाउन निरन्तर काम गरिरहेको बताए।

पहिरोका कारण सडकबाट नियमित आवतजावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर वैकल्पिक बाटोअर्थात् सडकको भिरतर्फ डोरी लगाएर भर्याङ बनाई यात्रुहरू वारपार गरिरहेका स्थानीय कमल बुढाले बताए।

ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक रिमिलाल बुढाले निकै कठिनपुर्ण यात्रा गरेर सिमकोट पुगेको सुनाए। उनले भने, “जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरोकारवाला निकाससँग सम्पर्क गर्दा उपाय नलागेपछि हामीले अन्तिम विकल्पको रुपमा भर्याङ लगाएर डोरीको सहायतमा भिर छिचोलेर सारै कष्टकर र जोखिम यात्रा झेलेर सदरमुकाम सिमकोट पुगेका हौँ।”

सडक अवरुद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको जनाउँदै जोखिमपूर्ण अवस्थामा यात्रुहरूलाई भिरबाट आवतजावत नगर्न आग्रहसमेत गरे। शुक्रबार दिउँसो सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट कैलाश मानसरोवर दर्शन गर्न जाने यात्रुहरु अलपत्र परेका छन्।

Leave A Reply

Your email address will not be published.