सुचना, समाचार र मनोरन्जन

मुना–जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै

 

म्याग्दी : मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने  चरणमा पुगेको छ । चालू आवमा संघीय सरकारले विनियोजन गरेको रु. पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका– २ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो ।

 

हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर  खोलेपछि यो बाटो ढोरपाटनसँग जोडिने धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । सडक डिभिजन कार्यालयले रु. एक करोडको लागतमा मुना–खोरीया–मरेनी खण्डमा स्तरोन्नति जारी राखेको छ ।

 

बेनीबाट मुना–खोरिया–मरेनी हुँदै करिब ५६ किलोमिटर ट्र्याक खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

 

‘बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडकको ट्र्याक खुलेपछि  मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ,’ उनले भने, ‘पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।’

 

म्याग्दीको धौलागिरि गाउँपालिका– २ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले संघीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।

 

बेनी–तातोपानी–बाबियाचौर–तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारको लगानीमा कालोपत्र भएको छ ।

Leave A Reply

Your email address will not be published.