सुचना, समाचार र मनोरन्जन

‘रोल नं १’को टिजर सार्वजनिक : गरिब विद्यार्थीको पीडा र सपना बोकेको कथा

काठमाडौं :

विनोद पौडेलको निर्माणमा तयार भएको फिल्म ‘रोल नं १’को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले बिहीबार युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरले मौसमजस्तै क्षणमै टुट्ने आम मानिसका सपना र भरोसाको कथा प्रस्तुत गरेको छ। बाबुले आफ्नो हिस्सा त्यागेर छोराको खुसीका लागि देख्ने सपना र त्यो पूरा नहुँदाको पीडालाई टिजरले मार्मिक ढंगले उजागर गरेको छ। टिजरमा छात्रवृत्तिमै निर्भर रहनुपर्ने बाध्यता, त्यसबाट बञ्चित हुँदा भोग्नुपर्ने पीडा तथा समाजमा इज्जत कायम राख्न पनि पढाइमा अब्बल हुनैपर्ने दबाबलाई प्रभावकारी रूपमा देखाइएको छ। सरकारी छात्रवृत्तिका कडा मापदण्डले गरिब तथा पिछडिएका वर्गका विद्यार्थी कसरी शिक्षाबाट टाढिँदै गइरहेका छन् भन्ने यथार्थलाई टिजरले प्रस्तुत गर्छ।

त्यस्तै, परिवारले आफ्ना अधुरा सपना छोरामा कसरी थोपर्छ र ती पूरा गर्न नसक्दा बालमनोविज्ञानमा कस्तो असर पर्छ भन्ने पक्ष पनि टिजरमा संवेदनशील ढंगले उठाइएको छ। समग्रमा, टिजरले यो फिल्मले गरिब नेपाली परिवारको यथार्थ कथा बोल्ने संकेत गर्छ। ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका निर्माता पौडेलको यो नयाँ फिल्म ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीले पार्ने नकारात्मक प्रभावलाई केन्द्रमा राखेको छ।

जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिएका छन्।विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माताका रूपमा रहेका छन्। फिल्मको कथा तथा पटकथा महेश दवाडीले तयार पारेका हुन्। हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण क्षेत्रमा छायांकन गरिएको यस फिल्मका डीओपी शिवराम श्रेष्ठ हुन्।

फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, फिरोज खड्काको चिफ एडी, कला संग्रौलाको प्रोडक्सन डिजाइन तथा मनोज जोशीको प्रोडक्सन हेडको भूमिका रहेको छ। सम्पादन मदन घिमिरेले गरेका हुन्। ‘रोल नं १’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ। निर्माता पौडेलका अनुसार यो फिल्म नेपालसँगै विदेशमा पनि एकसाथ रिलिज गरिनेछ। फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले गर्नेछन्।

Leave A Reply

Your email address will not be published.