सुचना, समाचार र मनोरन्जन

प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।

सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बसेको प्रतिनिधिसभा बैठकमा सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा औपचारिकरुपमा निर्वाचित भएको घोषणा गर्नुभयो । आजको कार्यसूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रसाव पेस गर्नुभएको थियो ।

लामिछानेको प्रस्तावमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्नुभयो । अस्ति शुक्रबार अर्यालले सभामुखमा मनोनयन दर्ता गर्नुभएको थियो । सभामुख पदमा उहाँको एकल उम्मेदवारी परेको थियो ।

अर्याल गएको फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ–९ बाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बन्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो एक बजे बस्ने गरी स्थगित भएको छ ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अहिले केहीबेरमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुनेछ । कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.