झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका बालेन शाह नेपालगञ्ज पुगेका छन । तर उनी उम्मेदवार रहेको झापामा भने घरदैलोको क्रम रोकिएको छैन । सोमबारदेखि उनकी पत्नी सविना काफ्ले झापाका गाउँ–गाउँ पुगेर श्रीमानका लागि भोट माग्न सक्रिय भएकी छन् । उनी बिहानैदेखि मतदाताको घरदैलोमा पुगेर बालेन्द्र शाहलाई मत दिन आग्रह गरिरहेकी छन् ।
शाहको सचिवालयले सार्वजनिक गरेका तस्बिरमा सविना हात जोडेर स्थानीय मतदातासँग भोट मागिरहेको देखिन्छ । आजको घरदैलो अभियान दमक–९ स्थित उराउ बस्तीबाट सुरु भई पाणिनि स्कुल, देवसिंह टोल, नौभाइ चोक हुँदै बुद्ध चोकसम्म पुगेको छ ।
उक्त क्षेत्रमा सविनाले आफ्ना श्रीमानलाई भोट गरेर प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरिरहेको शाहको सचिवालयका १ सदस्यले जानकारी दिए ।
उनका अनुसार यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार हुँदा सविना एक दिन पनि भोट माग्न हिँडेकी थिइनन् । कतिपयलाई त बालेन विवाहित भएको कुरा धेरैपछि मात्र थाहा भएको थियो । तर यसपटक भने सविनाले सक्रिय रूपमा चुनावी अभियानमा सहभागी हुनुको विशेष कारण छ ।
सविनाको माइती मोरङको उर्लावारीमा पर्छ भने मावल झापा–५ मै रहेको छ । यस कारण उनी सो क्षेत्रका स्थानीयसँग परिचित छिन् । आफ्नै क्षेत्रमा श्रीमान संसदीय निर्वाचनमा उम्मेदवार बनेपछि सहयोगका लागि उनी मतदाताको घर–घरमा पुगेर भोट माग्दै हिँडेकी हुन् ।