सुचना, समाचार र मनोरन्जन

घान्द्रुक पुग्ने सडक बाढीले बगायो, दुई रेष्टुरेन्टसहित केही घरमा क्षती

कास्की,

कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक पुग्ने मुख्य सडक आइतबार आएको बाढीका कारण अवरुद्ध भएपछि स्थानीय बासिन्दा र पर्यटकको आवागमन प्रभावित भएको छ। अविरल वर्षापछि किम्रुङ खोला हुँदै मोदी खोलामा आएको भीषण बाढीले विरेठाँटी–घान्द्रुक सडक कटान गर्दा सवारी सञ्चालन पूर्ण रूपमा बन्द भएको हो।

अन्नपूर्ण गाउँपालिका–८ र १० को सिमानामा पर्ने स्याउली बजार नजिक सडक बगाएसँगै घान्द्रुकसँगको सडक सम्पर्क विच्छेद भएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ। पानीको बहाव कम भएपछि वैकल्पिक रूपमा सडक सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो।

बाढीले अन्नपूर्ण पदमार्गमा रहेको किम्रुङ खोलाको झोलुङ्गे पुलसमेत बगाएको छ। पुल बग्दा करिब ३० देखि ४० घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन् भने पदमार्ग प्रयोग गर्ने पर्यटक र स्थानीयले समेत आवतजावत गर्न सकिरहेका छैनन्। स्याउली बजारका दुई रेष्टुरेन्टसहित केही घरमा बाढी पस्दा भौतिक क्षति पुगेको छ।

स्थानीयका अनुसार माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि एक्कासी खोलिँदा ठूलो बाढी आएको हुनसक्ने अनुमान गरिएको छ। घटनापछि गाउँपालिका, सुरक्षा निकाय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली घटनास्थल पुगेर क्षतिको विवरण संकलन तथा व्यवस्थापनमा जुटेको छ।

हालसम्म मानवीय क्षतिको खबर प्राप्त नभए पनि भौतिक क्षति उल्लेखनीय रहेको जनाइएको छ। प्रशासनले मोदी खोला तथा अन्य नदी किनार आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न, अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.