पोखरा,
रेवान पोखराले यहीँ पौष १३ गतेदेखि पोखरा महानगरपालिका ६ कोमागाने पार्क स्थित ३ किलोमिटर क्षेत्रफलमा आयोजना गर्न लागेको २७औं स्ट्रिट फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । “सडकमै खाउँ, सडकमै नाचौँ सडकमै रमाउँ” भन्ने नारासहित खाना संस्कृति र संगीतलाई प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुन लागेको फेस्टिभलले पोखराको मात्र नभएर समग्र नेपालको पर्यटनको पवद्र्धनमा सहयोग पुर्याउने आयोजकको विश्वास छ ।
सडक महोत्सवको उद्धघाटन नेपाल सरकारका उर्जामन्त्री कुलमान घिसिङले गर्नेछन । विगतको समयमा नयाँ वर्ष मनाउन भारतका विभिन्न सहर जाने परम्परालाई सडक महोत्सवले तोड्दै पोखरालाई “अंग्रेजी नयाँ वर्षको गन्तव्य” का रुपमा स्थापित गर्न सफल भएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
महोत्सवका प्रमुख आकर्षणहरुमा सांस्कृतिक विविधता अन्र्तगत नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकीहरु, मौलिक भेषभुषा र परम्परागत नृत्यहरुको प्रदर्शन, नेपथ्य एक्स रियुनियन स्पेशलमा गायक रविन श्रेष्ठ “आँगनैभरी”, “छेक्यो छेक्यो” र गौतम गुरुङ (जोमसोमै बजारमा”, “गण्डकीको तीरैमा”, लेकाली व्याण्डबाट भाइ गुरुङ (पहिलो नजर, कहाँबाट सुरु), नविन गुरुङ (यो मुटुमा, सपनीमा), देउराली व्याण्डका शान्तराज बज्राचार्य (ढूंगे साँघुको मेलैमा, लुकी चोरी), डिमार्च भास्करध्वज श्रेष्ठ (झ्याम झ्याम, तारा खस्यौली, कैलाशमा), केहर लिम्वु (झ्यालैमा, कता छौ मेरो फूल), स्वप्न स्वरुप(कसरी भनु तिमिलाई, जे छौ तिमि, उज्जन शाक्य (वेवी वेवी रे) कार्टन क्रु आश्मा विश्वकर्मा (वि गर्ल स्काई÷सरोज अधिकारी, टुकी र्यापर (कस्तो छ तिमिलाई, सम्झना), सन्तोष बस्याल (रेशम फिरिरी, ढाटयो मायाले) लगायत प्रस्तुति रहनेछन ।
त्यस्तै चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने (झील झील सितारा, ढुंगे धारामा, देउरालीमा धजा), जीवन दाहाल (पोखरामा घाम, जाम त भने), चोलेन्द्र पौडेल पानी मुनी मुनी लगायत सांस्कृतिक प्रस्तुतीको आन्नद लिन सकिनेछ । स्वदेशी तथा विदेशी सडकमा बन्ने खानाका परिकारहरु, नेपालका खेतिप्राप्त राष्ट्रिय कलाकारहरुको ‘लाइभ कन्सर्ट’ मौलिक लोक दोहेरी गीत प्रस्तुति रहनेछ । त्यस्तै फेवा तालमा बोट रेस, वेटर रेस, टग अफ वार र पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरुसंग ‘टक सो’ का साथै पोखराको सौन्दर्य झल्किने वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनी गरिनेछ ।
महोत्सवमा सह–आयोजकको रुपमा प्रोटोन इमास सेभेन, राईड पार्टनरको रुपमा टिभिएस रोहिन, रेष्ट्रुरेन्ट पार्टनर सिटि स्क्वायर, एजुकेशन पार्टनर जी एण्ड के ईन्टरनेशनल एजुकेशन कन्सलटेन्ट, साउण्ड पार्टनर एस.के साउण्ड, प्रचार प्रसार संयोजक परिचय, हस्पिटल पार्टनर चरक अस्पताल तथा ईभेन्ट पार्टनर अल टेक नेपाल रहेका छन ।
पर्यटकीय सहरको सौन्दर्यता, पोखरा र आसपासका कला संस्कृति, फरकफरक खानाका स्वाद तथा नयाँ, पुराना चर्चित कलाकारहरुको साँस्कृतिक कार्यक्रम सहित पौष १३ देखि १७ सम्म पोखरा सहर गुल्जार हुने हुँदा उक्त अवसरको फाईदा उठाउन आन्तरिक तथा बाह्य पर्यटकलाई आयोजकले आग्रह गरेको छ ।