पोखरा,
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले आफ्नो टोलीलाई थप मजबुत बनाउने उद्देश्यसहित श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समराविक्रमालाई अनुबन्ध गरेको छ। प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्नुअघि पोखराले अनुभवी खेलाडी सदिरालाई टोलीमा भित्र्याएको हो।
३१ वर्षीय दायाँहाते ब्याटर समराविक्रमाको आगमनले पोखराको ब्याटिङ र विकेटकिपिङ दुवै पक्षलाई सहयोग पुग्ने टोलीको विश्वास छ। उनी तेस्रो संस्करणका लागि पोखराले अनुबन्ध गरेका तेस्रो श्रीलंकाली खेलाडी तथा समग्रमा छैटौँ विदेशी खेलाडी हुन्।
पोखराले यसअघि नै श्रीलंकाली ब्याटिङ अलराउन्डर धनन्जय लक्षणलाई निरन्तरता दिएको छ भने पेस बलिङ अलराउन्डर चमिका करुणारत्नेलाई पनि टोलीमा समेटिसकेको छ। त्यस्तै, बंगलादेशबाट विश्वचर्चित अलराउन्डर शाकिब अल हसन, पेस बलिङ अलराउन्डर मोहम्मद सैफुद्दिन र स्पिन बलिङ अलराउन्डर महेदी हसनलाई अनुबन्ध गरेको छ।

श्रीलंकाको राष्ट्रिय टोलीबाट तीनवटै प्रारूपमा खेलिसकेका समराविक्रमाले नौ टेस्ट, ५५ एकदिवसीय अन्तर्राष्ट्रिय र १९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। सन् २०२४ को टी–२० विश्वकपमा समेत श्रीलंकाली टोलीमा रहेका उनी छोटो प्रारूपमा मध्यक्रमका ब्याटरका रूपमा खेल्छन्। लंका प्रिमियर लिगमा चार फरक टोलीबाट खेलिसकेका समराविक्रमा मंगलबार नेपाल आइपुगेका हुन्।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले बुधबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दै तेस्रो संस्करणको यात्रा सुरु गर्दैछ। यसपटक टोलीले अनुभवी खेलाडीलाई निरन्तरता दिनुका साथै स्थानीय युवा प्रतिभालाई पनि समेटेको छ। विदेशी खेलाडीको संयोजनमार्फत ब्याटिङ, बलिङ र अलराउन्ड क्षमतालाई सन्तुलित बनाउने पोखराको प्रयास देखिएको छ।
टोलीले यस सिजन मुख्य प्रशिक्षकमा पनि परिवर्तन गरेको छ। श्रीलंकाका पूर्वक्रिकेटर अजन्था मेन्डिसलाई नयाँ मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ। त्यस्तै, भारतीय पूर्वक्रिकेटर तथा टी–२० विश्वकप विजेता इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको छ।
नयाँ खेलाडी, अनुभवी विदेशी क्रिकेटर र परिवर्तित प्रशिक्षकीय नेतृत्वसहित पोखरा एभेन्जर्सले यसपटक एनपीएलको पहिलो उपाधि जित्ने लक्ष्य राखेको छ। प्रतियोगितामा टोलीको प्रदर्शन र नयाँ खेलाडीबीचको तालमेलले पोखराको उपाधि यात्रामा महत्त्वपूर्ण भूमिका खेल्नेछ।