सुचना, समाचार र मनोरन्जन

सगरमाथा संवादको तयारी अन्तिम चरणमा

काठमाडौँ,

नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस ८ गते काठमाडौँमा सगरमाथा संवाद हुने घोषणा गरेका थिए। त्यस्तै गत माघ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्ने निर्णय भएको थियो भने फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट संवादको अवधारणापत्र स्वीकृत गरी सचिवालय स्थापना गरिएको थियो ।

संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

प्रचार प्रसार समितिका संयोजक क्षेत्रीले समसामयिक विश्वका जल्दाबल्दा मुद्दाहरूमा राष्ट्ररसरकार प्रमुखहरू, मन्त्रीहरू, सांसदहरू, नीति निर्माताहरू, विज्ञहरू, सञ्चारमाध्यम, व्यापारिक समुदायलगायतबीच नेपालमा बहुसरोकारवाला, अन्तर–क्षेत्रीय विश्वव्यापी संवादका लागि उपयुक्त मञ्च उपलब्ध गराउनु संवादको उद्देश्य रहेको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.