काठमाडौँ,
प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो ।
विभागका निर्देशक हिमाल गौतमले भने,“सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ ।” आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किदैछन् ।
अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ ।
मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए। उनले भने,“मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन । चौँथो शिविर पुगेका आरोही आज र भोलि मङ्गलबार सबैजना आधार शिविर आउनुहुन्छ होला ।”
मौसम खराबीका कारण अबको तीनरचार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ । मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ ।
सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एकटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो ।
मे १२ देखि १५ सम्म ‘समिट बिन्डो’ रहेको थियो । मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो । तर पाँच दिन अगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो ।
हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ्ङ) सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ ।