सुचना, समाचार र मनोरन्जन

सहारा एकेडेमीका बालकलाई न्यानो कपडा वितरण

पोखरा,

सहारा आवासीय फुटबल एकेडेमीका बालकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति एकेडेमीका छात्रहरुलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

सो अवसरमा मेजर सूर्य गुरुङले एकेडेमीमा आश्रित ३० जना बालकहरु तथा २ जना होस्टेल वार्डेनका निम्ति ज्याकेट वितरण गरेका हुन् । उनले वार्षिकरुपमा एकेडेमी स्पोर्टस् ड्रेस, फुटबल किट साथै नगद सहयोग हस्तान्तरण गर्दै आएका छन् । यसपालि करिब ६० हजार बराबरको ३२ थान न्यानो कपडा सहयोग गरेको जानकारी क्लब अध्यक्ष केशवबहादुर थापाले दिए ।

सहयोग वितरण कार्यक्रममा मेजुर गुरुङसँगै बिट्रिस गोर्खा काठमाडौंमा कार्यरत् क्याप्टेन सुरेन लिम्बु, स्टाप सार्जन आवस लिम्बु साथै स्टाप सार्जन निसान थकालीको समेत उपस्थिति थियो । क्लब अध्यक्ष केशवबहादुर थापाले खादा तथा एकेडेमी संयोजक विष्णु गुरुङले फूलगुच्छा प्रदान गरी अतिथिको स्वागत गरेका थिए ।

आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै मेजर गुरुङले बालकहरुलाई अनुशासित भई पढाइमा ध्यान दिन तथा भविष्यमा नेपालको फुटबल टिममा छनोट हुन अझ मेहनतका साथ लाग्न सुझाव दिए ।

क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले एकेडेमी भवन निर्माणबारे जानकारी गराउँदै अतिथिहरुलाई एकेडेमीको अवलोकन गराएका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष हरिराम गुरुङ, कोषाध्यक्ष लिलबहादुर थापा, कार्य समिति सदस्य प्रमिला घले, अमर राजभण्डारी, संस्थापक सदस्य राजकुमार गुरुङ, पूर्व कार्य समिति सदस्य रविन श्रेष्ठ र एकेडेमीका फुटबल प्रशिक्षक सुनिल रानामगरको उपस्थिति थियो ।

अध्यक्ष केशबहादुर थापाले स्वागत मन्तव्य एवं धन्यवाद ज्ञापन गरेका थिए भने सचिव ज्ञानेन्द्र गुरुङले संचालन गरे । पोखरा–१७, दोबिल्लास्थित एकेडेमीमा हाल ३० जना बालकहरुले निःशुल्क आवासीय सुविधासहित शिक्षा, दीक्षा एवं फुटबल सिकिरहेका छन्।

आहा रारा पोखरा गोल्डकप लगायत कार्यक्रम संचालन गरी क्लबले बचत रकम एकेडेमीमा लगाउँदै आएको छ । २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप आगामी माघ २७ देखि फागुन ९ सम्म हुँदैछ । पोखरा रंगशालामा हुने सो प्रतियोगिताको यसपालि रजत संस्करण पनि हो ।

Leave A Reply

Your email address will not be published.