काठमाडौं :
बलिउडका चर्चित तथा सुप्रसिद्ध गायक साहिद मालया सांगीतिक प्रस्तुतिका लागि नेपाल आउने भएका छन्। एल एण्ड एन एजेन्सीको आयोजनामा साहिद मालयाको लाइभ कन्सर्ट आगामी फेब्रुअरी ६ (शुक्रबार) रात काठमाडौंमा आयोजना हुने भएको हो।
एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले भ्यालेन्टाइन महिना लक्षित गरी साहिद मालयालाई लाइभ सांगीतिक प्रस्तुतिका लागि नेपाल ल्याउन लागिएको पुष्टि गरे। कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको पनि उनले जानकारी दिए।
कायस्थका अनुसार साहिद मालयाको प्रस्तुतिप्रति नेपाली संगीतप्रेमीहरूमा उच्च उत्साह देखिएको छ। उनले फेब्रुअरी ६ को रात आयोजना हुने कार्यक्रमलाई सबैभन्दा प्रत्याशित सांगीतिक इभेन्टमध्ये एक हुने दाबी गरे। समकालीन बीट र परम्परागत भारतीय ध्वनिको संयोजनमा आधारित साहिद मालयाको गायन शैलीले दर्शकलाई फरक अनुभव दिने आयोजकको विश्वास छ।
एल एण्ड एन एजेन्सी नेपालमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम व्यवस्थापनका लागि परिचित छ। एजेन्सीले यसअघि ६ सयभन्दा बढी कार्यक्रम आयोजना गरिसकेको जनाएको छ। विगतमा बलिउड संगीतकार तथा गायक तेरा भाइ जेडबी, बम्बे वाइकिंग्स, विनीत सिंह र र्यापर मेलो डीलाई नेपाली दर्शकमाझ प्रस्तुत गरिसकेको छ।
साहिद मालया बलिउडका सफल गायकमध्ये एक मानिन्छन्। उनले हालसम्म सात पटक आइफा अवार्ड प्राप्त गरिसकेका छन्। ‘कुदमाही’, ‘रब्बा मैन तो मर गया’, ‘एक कुडी’, ‘दो धारी तलवार’, ‘बिखरने का मुझको शौक है बडा’ लगायतका गीतमार्फत उनी व्यापक रूपमा चर्चित छन्। पछिल्लो समय उनले नेपाली गीतहरूमार्फत पनि चर्चा बटुल्दै आएका छन्।
आयोजकका अनुसार साहिद मालयाको लाइभ कन्सर्ट काठमाडौंको ठमेलस्थित एक्सओ क्लबमा आयोजना हुनेछ। कार्यक्रमका टिकटहरू बजारमा उपलब्ध भइसकेका छन् र टिकट बिक्री टिकट सञ्जालमार्फत भइरहेको आयोजक टिमका बिजु श्रेष्ठ र सानु खानले जानकारी दिएका छन्।