काठमाडौं :
दसैंको पूर्णिमाको अवसर पारेर बहुप्रतीक्षित नेपाली फिल्म ‘मैझारो’ को दोस्रो गीत ‘साकेला नाचौँ’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले यो गीत रिलिज गर्दै प्रचारप्रसारलाई थप तातेको छ।
राजेशपायल राई र मेलिना राईको सुमधुर स्वरमा रहेको गीतमा पदम साधना कुलुङको शब्द रचना र तोरेम्पाहाङ राईको संगीत रहेको छ।
ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतमा दयाहाङ राई, दिया पुन, धिरज मगर र मिरुना मगरले छमछमी ‘साकेला’ नाचेका छन्।
गीतमा देखाइएको नृत्य र प्रस्तुति पूर्वी नेपालको राई समुदायको मौलिक सांस्कृतिक सन्दर्भसँग जोडिएको छ। किराँत समुदायले पर्वका रूपमा साकेला मनाउने परम्परा रहिआएको छ।
फिल्मको कथा लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धमा आधारित रहेको छ, र ‘साकेला नाचौँ’ गीतलाई त्यसैअनुसार कथासँग जोडिएको बताइएको छ। गीत रिलिज भएपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन्। निर्माण पक्षले यो गीत तिहारको समयमा देशभर चर्चामा आउने सम्भावना रहेको विश्वास व्यक्त गरेको छ।
यसअघि रिलिज भएको पोस्टर, टिजर र गीत ‘तिमीलाई के थाहा सानु’ ले पनि दर्शकमाझ चर्चा बटुलिसकेको छ। ‘मैझारो’ हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा बनेको डेब्यू फिल्म हो। नेपाली मौलिक प्रेमकथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, प्रेम सुब्बा, उदय सुब्बालगायतका कलाकारको अभिनय छ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, सौरभ लामाको छायांकन, आरआर फिल्म्सको वितरण र ओएसआरको डिजिटल अधिकार रहेको छ। फिल्म कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ।