काठमाडौं :
बुवा कान्छी ल्याएर काठमाडौंमा बसेका र आमा पाकिस्तानीसँग बिहे गरेपछि ४ वर्षको उमेरमा नै टुहुरी बनेकी थिइन् शालिन पोखरेल । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।
निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनलाई प्रहरीले रुमा नै झुन्डिएको अवस्थामा शव फेला परेको थियो। प्रहरीले उनको सुसाइड नोट समेत फेला परेको छ। उनको त्यो नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार रहेको देखिन्छ। कलिलै उमेरमा बुवा–आमाको मायाबाट बच्चित बनेकी शालिनले राम्रो हेरचाह समेत पाइनन्।
शनिबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर मृतकको शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका कार्यहरू सम्पन्न गरी सो घटनाको गम्भीर अनुसन्धान भइरहेको छ।’
चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आफ्नो पेशागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको छ, वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने छ।’
उनले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन्। त्यसमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएको छ। आत्महत्याको दोष उनले कसैलाई नदिई आफूले सबैलाई ‘खुसी’ राख्न नसकेको भाव ‘सुसाइड नोट’मा उल्लेख गरिएको बुझिन्छ। १० वर्षमा शालिन ८ वर्ष मामाघरमा बस्दै आएकी थिइन। त्यसपछि उनलाई होस्टेलमा राखिएको थियो। प्रहरीका अनुसार उनी होस्टेल बस्न थालेको भर्खर दुई वर्ष हुँदैछ।