पोखरा ।
साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक सङ्ग्रह ‘सम्बोधिका’ लोकार्पण भएको छ । शनिबार पोखरामा एक कार्यक्रमका बीच सम्बोधिकाको प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य एकेडेमिका पूर्व कुलपति सरुभक्त, साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोईराला, विम्ब कवि रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा लगायतले लोकार्पण गरेका हुन् ।
साहित्यकार अधिकारीको मुक्तक संग्रह एक दशकपछि सार्वजनिक भएको हो । लोकार्पण गर्दै सरुभत्तले साहित्यिक कृतिहरू समाजका ऐना तथा सामाजिक चेतनाका उपज भएको बताए । ‘पोखरा मुक्तकको शहर हो,यहाँ मुक्तकका कर्महरू हुनु पनि स्वाभाविकै हो’, उनले भने, ‘यस्ता असल कृतिहरू आइरहनु पर्छ ।’
कृतिमा भएका सबै सिर्जना उत्कृष्ट हुनैपर्छ भन्ने नभएको र सिमित सिर्जनाले मात्र कृतिको मर्यादालाई कायम राख्ने उनले बताए । विषय विज्ञताको हिसाब किताबमा लागेका विज्ञहरू साहित्य लेखनमा पनि उत्तिकै निपुण छन् भन्ने कुरा गणितका विज्ञ डा.अधिकारीको कृतिबाटै प्रष्ट भएको भनाई उनको छ । श्रेष्ठले पछिल्लो समय प्रचलित रुवाई शैलीको लेखनमा मुक्तक आईरहेका भएपनि हाम्रो नेपाली धरातल, संस्कृत, यहाँको मौलिकता, ऋषि, वेद र पौराणिक विज्ञहरूलाई मुक्तकका माध्यम बुझ्न आवश्यक भएको उल्लेख गरे ।
साहित्यकार तिर्थ श्रेष्ठले मुक्तक स्वतन्त्र हुने भएकोले यसको ढाँचा र भावमा स्वतन्त्रता हुनुपर्नेमा जोड दिए । उनले भने, ‘मुक्तक चार लाईनको हुनैपर्छ, तुक मिलेको हुनैपर्छ, काटकुट गरेको, कैचीले काटेको जस्तै हनुपर्छ भन्ने कुरा गलत हो । भाव र चोटिलो प्रहार यसको गुण हो ।’ अधिकारीका मुक्तकहरूमा रुवाईया शैली अपनाएको भएपनि अब्बल भएको बताए उनले बताए । उनले नेपाली मुक्तक लेखनमा आफ्नो संस्कार, संस्कृति, मौलिकता र पहिचानलाई अटाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
कृतिकार ईश्वरमणि अधिकारीले लामो अवधिमा लेखेर थन्किएका मुक्तकहरूबाट छानेर ‘सम्बोधिका’ प्रकाशन गरेको बताए । ‘मैले सकेसम्म सत्यको र यथार्थ परिवेशलाइ अङ्गालेको छु । तर बेईमानीलाई अस्वीकार गरेको छु ।’, उनले भने, ‘मानिस सर्वगुणको हुँदैन । केही कमजोरी अवश्य भएका छन् जसलाई सच्याउँदै आगामी समय अझ निखारिदै आउनेछु ।’
सो अवसरमा प्राज्ञ हरिदेवी कोईराला, विम्ब कवि रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा, जीवनसागर भण्डारी, संजिव पौडेल लगायतले बोलेका थिए । १२१ पृष्ठको पुस्तकमा १११ वटा मुक्तक रहेका छन् । यसलाई पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको हो । साहित्यकार ईश्वरमणि अधिकारीको यो चौथो कृति हो । यसअघि समयको तस्बिर नामक कविता संग्रह, हृदयको आलाप गजल संग्रह र एक हिमाल आरोहीको जिवनी प्रकाशन भइसकेका छन् ।
उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको ‘सम्बोधिका’ लोकार्पण कार्यक्रममा उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’ले स्वागत तथा सचिव डा.चैतन्य अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।