काठमाडौं :
सुम्निमा पारुहाङ म्यूजिक प्रा.लि.बाट कलाकार र पत्रकार सम्मानित भएका छन्। शनिबार एक समारोहकाबीच नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति तथा गायक संगीतकार शम्भु राईसहित ९० जना कलाकार,पत्रकार तथा खेलाडीलाई सम्मानित गरेको हो।
उक्त कार्यक्रममा म्यूजिक प्रा.लि.का अध्यक्ष मंगल राईको अध्यक्षतामा सम्पन्न गरिएको थियो। कार्यक्रममा साकेला गीत ‘विनायो मुर्चुङ्गा’का कलाकार, अन्य कलाकार र विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई सम्मान गरिएको हो ।

सम्मानित कलाकारलाई नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति तथा गायक संगीतकार शम्भु राईले कला र संस्कृतिले नै देशलाई चिनाउने र यसलाई जोगाउन जोड दिए। उनले संस्कृति विनाको समाज कल्पना समेत गर्न नसकिने बताए । उनले संस्कृतिलाई जीवित राख्न नसके नेपाली भन्नुको कुनै अर्थ नहुने र यसलाई जोगाउन सबै लाग्नुपर्ने बताए ।
उनले भने, ‘तपाईहरु आयातित गीतसंगीतमा रमाउन थाल्नुभयो भने हाम्रो पहिचान हराउनेछ । त्यो दिन कसैले तिम्रो देशको संस्कृति पहिचान कस्तो हो भनेर सोध्दा हलिउड, बलिउडको उदाहरण दिनुपर्छ । त्यस्तो कुरालाई निस्तेज गर्दै लैजानुपर्छ ।’
सुम्निमा पारुहाङ म्यूजिक प्रा.लि.का अध्यक्ष मंगल राईले आफु विदेशमा रहेर पनि नेपाल भित्रका सबै समुदायका विपन्न र असाहयलाई सहयोग गर्दै आएको बताए। उनले कलाकर्मीलाई सम्मान पत्र वितरण गर्न पाउँदा खुसी लागेको बताए।
सुम्निमा पारुहाङ म्यूजिक प्रा.लि.का अध्यक्ष तथा गीतकार मंगल राईले संगीतलाई मात्रै प्राथमिकता दिने उद्देश्य नरहेको र आगामी दिनमा सामाजिक गतिविधि पनि सँगै लैजाने बताए । ‘म विदेशमा रहेपनि नेपाली गीतसंगीतको चिन्ता सधैँ लाग्छ । विना विभेद दिनदुखिलाई सकेको सहयोग पनि गरिराखेको छु । सबै कार्यक्रम सुम्निमा पारुहाङबाटै गर्ने निधो गरेको छु ।’उनले भने ।
अतिथि तथा गायक प्रियजन राईले सम्मानित हुने सबैलाई बधाई दिए। सुम्निमा पारुहाङ म्यूजिक प्रा.लिले कलाकर्मी तथा पत्रकारलाई सम्मान गर्नु नै ठुलो कुरा रहेको भन्दै आगामी दिनमा निरन्तता दिन आग्रह गरे।