काठमाडौँ,
प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरुले सडक मार्गलाई सुरक्षित बनाउनपर्नेदेखि रातो मच्छिन्द्रनाथको रथको दायाँबायाँ राखिने हिटीमङ्ग हराएकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसद ठाकुरसिंह थारु यही जेठ १ गते बर्दियाको बबई नदीमा लठवा मसान घाटको एकातिर लास जलाइरहेको र अर्कोतिर डोजर चलाइरहेका विषयबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले दाहसंस्कार गर्दा बस्ने भवन भत्काउन आदेश दिने वनका कर्मचारीलाई कारबाहीको माग गर्नुभयो ।
सांसद गङ्गालक्ष्मी अवालेले ललितपुरमा सहकालका देवता रातो मच्छिन्द्रनाथ रथको दायाँबायाँ राखिने कर्कट नागको करिब ९० केजीको तामामाथि सुनको जलप लगाएको हिटीमङ्ग हराएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद खुस्बु ओलीले नेपालबाट कुवेत गएकी शर्मिला दर्जी अलपत्र अवस्थामा परेको उल्लेख गर्दै दर्जीको तत्काल खोजी गर्न माग गर्नुभयो । सांसद सुनिल केसीले भूमिगत विद्युत् लाइन र खानेपानी पाइप विस्तार गर्ने जिम्मेवारी लिएका कम्पनीहरुले सडक सुरक्षालाई बेवास्ता गर्ने, खाल्डाहरु यत्तिकै छाड्नाले दुर्घटना बढको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद धनेन्द्र कार्कीले बालबालिकाहरुले भोग्नुपरेको दुर्व्यवहारसम्बन्धी घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै यस्ता घटना हुन नदिन सुरक्षा व्यवस्थामा ध्यान दिन आग्रह गर्नुभयो । सांसद बलावती शर्माले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने आजको दिन भएका उल्लेख गर्दै उक्त विषयमा ध्यानाकर्षण गराउनुभयो । सांसद ध्रुवराज राईले अलपत्र परेको सडक, सवारीसाधन र यात्रुहरुको सुरक्षामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुरेशकुमार चौधरीले यही जेठ १ गते राप्ती सुनारी गाउँपालिका(३ मा पर्ने सामुदायिक वनका बाख्रा चराइरहेको अवस्थामा चारजना थारु महिलामाथि १०र११ जनाको समूहमा आएका मानिसहरुले कुटपिट तथा लुटपाटमा संलग्नलाई कडा कारबाही गर्न माग गर्नुभयो ।