सुचना, समाचार र मनोरन्जन

दूरसञ्चार र सञ्चार नियमनमा नयाँ नेतृत्व, चुनौती समाधान र सुशासनमा जोड

नेपाल दूरसञ्चार प्राधिकरण र प्रेस काउन्सिल नेपालले नयाँ नेतृत्व पाएको छ। सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेसँगै दुवै नियामक निकायको आगामी कार्यदिशाप्रति चासो बढेको छ।

सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले आइतबार नियुक्तिपत्र प्रदान गर्दै दुवै निकायले नागरिकको हितलाई केन्द्रमा राखेर निष्पक्ष, पारदर्शी र परिणाममुखी ढंगले काम गर्नुपर्नेमा जोड दिए। उनले दूरसञ्चार प्राधिकरणलाई सेवा विस्तार, सुशासन र प्रभावकारी नियमनमा केन्द्रित हुन तथा स्पष्ट अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिए।

प्रेस काउन्सिलतर्फ भने पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना ९मिसइन्फरमेसन० र दुष्प्रचार ९डिसइन्फरमेसन० लाई प्रमुख चुनौतीका रूपमा औँल्याउँदै मन्त्री तिमिल्सिनाले त्यसको नियन्त्रणमा काउन्सिलले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकमाथिको छलफललाई पनि छिट्टै निष्कर्षमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए।

नवनियुक्त प्रेस काउन्सिल अध्यक्ष उमेश श्रेष्ठले वर्तमान सञ्चार परिवेशअनुसार पुराना कानुन संशोधन अपरिहार्य रहेको उल्लेख गर्दै पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, स्वनियमन प्रणाली सुदृढीकरण र प्रेस स्वतन्त्रताको संरक्षणलाई आफ्नो प्राथमिकता बनाउने बताए।

यस्तै, दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तर सुधार, विद्यमान समस्या समाधान, सुशासन प्रवर्द्धन र नागरिकमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कानुन र नीतिको सीमाभित्र रहेर उत्तरदायी तथा प्रभावकारी नियामक भूमिका निर्वाह गर्ने बताए।

नयाँ नेतृत्वको नियुक्तिसँगै डिजिटल सेवा विस्तार, सञ्चार क्षेत्रको विश्वसनीयता, गलत सूचना नियन्त्रण र नियामक निकायको प्रभावकारिता बढाउने विषय अब उनीहरूको कार्यसम्पादनको मुख्य परीक्षण बन्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.