सुचना, समाचार र मनोरन्जन

रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ: अभिनेता सरोज खनाल

काठमाडौँ, 
अभिनेता सरोज खनाल रङ्गमञ्च र चलचित्रका लागि परिचित नाम हो । उनले तीस भन्दा बढी नाटक र सय भन्दा बढी चलचित्रमा काम गरिसकेका छन ।
नेपाली चलचित्रमा अभिनेता हुँदै पछिल्लो समय सहअभिनेताका रुपमा काम गरिरहेका  खनालले आठ वर्षको अन्तरालमा नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा काम गरेका छन ।
विसं २०७४ ‘बाह्र दुर्वासा’ नामक नाटकमा अभिनय गरेपछि उनी चलचित्रमा व्यस्त भए। लगातार चलचित्रको फाँटमा क्रियाशीलन भएका अभिनेता खनाललाई आफ्नो अभिनयको अनुसाशन कायम नभएको आभाष भएपछि दुई महिना समय निकालेर रङ्गमञ्चमा प्रस्तुत भएका हुन ।
यसअवधिमा उनले तीनदेखि चार चलचित्रमा काम गरिसक्नुहुन्थ्यो, तर नाटकले दिएको सन्तुष्टी सायदै प्राप्त गर्नुहुन्थ्यो होला । त्यही भएर उनी आफ्नो पात्रलाई नयाँ रुप दिन दुई महिनादेखि मेहनत गरिरहेका छन ।
“अमेरिकाबाट स्वदेश फर्किएपछि नाटकघरबाट अभिनयको सुरुआत गरेको थिएँ । रङ्गमञ्चमा काम गर्दा आफूलाई बुझ्ने मौका पाउँछु, म आफूलाई सिक्न र बुझ्न यहाँ आउने गर्छु”, अभिनेता खनालले भने ।
त्यसो त उनले चलचित्रमा मेहनत नगरेका भने होइन, आफूले पाएको भूमिकालाई निर्वाह गर्न अभिनेता खनालले पहिले जस्तो थप मेहनत गर्नुपर्दैन । न त निर्देशकले नै फरक किसिमले प्रस्तुत गर्ने जाँगर देखाउने गरेका छन् । दर्शकले रुचाइरहेकै स्वरूपमा निर्देशकले उहाँलाई पर्दामा ल्याइरहनुभएको छ । सोही कारण पनि अभिनेता खनालले नाटक गर्ने समय आयो भन्ने महसुस गर ।
“अहिले मैले चलचित्रमा गर्ने काम भनेको सहायक अभिनेताको रुपमा हुने गरेको छ । त्यसका लागि निर्देशकले मलाई दिनुभएको भूमिकालाई निर्वाह गर्छु, फेरी दैनिक छायाङ्कन पनि हुँदैन । त्यसैले पात्रमै बाच्नु पर्ने आवश्यकता हुँदैन, फेरी त्यहाँ एकपटक गरेको दृश्य सही भएन भने त्यसलाई अभ्यास गरेर पुनः गर्न पाइन्छ । त्यसले गर्दा हामीलाई प्राविधिक सहुलियत पनि छ, तर नाटकमा अवस्था भिन्न छ । जे हुन्छ, प्रत्यक्ष र दर्शकको अगाडि हुन्छ । त्यसैले हामीले यहाँ मेहनत गरेनौँ भने त्यसको परिणाम तुरुन्तै दर्शकमा देख्न पाइन्छ”, उनले भने ।
नाटकमा एउटा अभिनेताले एउटा पात्रलाई दुईदेखि तीन महिनासम्म बाँच्नु पर्ने हुन्छ । सुरुको केही दिन अभ्यास र त्यसपछि मञ्चनका क्रममा अभिनेताले निर्वाह गर्ने पात्रलाई नै जीवन मानिसकेका हुन्छन् ।
एउटा पात्रलाई दैनिक प्रस्तुत गर्दा त्यहाँ आत्मा बस्न थालेको हुन्छ । अर्थात् उक्त पात्रको सुखदुःखसँग कलाकार विस्तारै जोडिने गर्छन् । अभिनेता खनालले अभिनय गरिरहनुभएको नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा द्वन्द्वकालमा यौनहिंसा भोग्न बाध्य भएकी एक सर्वसाधारण महिलाको कथा देखाइएको छ ।
उक्त महिलासँग घटेको घटनाले मनोविज्ञानमा पारेको प्रभावले जो कसैलाई पनि असर गर्न सक्ने अभिनेता खनालको बुझाइ छ । उहाँले द्वन्द्वकालमा आफू बाहिर भएकाले पनि यस्ता घटना र पात्रलाई प्रत्यक्ष रुपमा सुन्न नपाएको बताए ।
“म लामो समय विदेशमा रहे । विशेषत द्वन्द्वकालका घटनालाई मैले परदेशबाट सञ्चारमाध्यममार्फत बुझ्ने मौका पाएँ । तर, त्यो समयमा जसको द्वन्द्वसँग कुनै सङ्लग्नता नै थिएन, ती पनि यस्ता समस्यामा छन् भन्दा वा सुन्दा दुःख लाग्छ । किनकि द्वन्द्वले दिएको बाहिरी घाउ वा चोट त हामीसबैले बुझेका र देखेका छौँ तर भित्री मानसपटलमा दिएको चोटलाई कसैले बुझ्न सकेको छैन । त्यही एउटा घाउलाई हामीले नाटकमार्फत प्रस्तुत गरेका छौँ”, अभिनेता खनालले भने ।
द्वन्द्वको क्रुरता र भयावहलाई प्रस्तुत गर्दै न्याय प्रणाली र राज्यसँग प्रश्न गर्ने उक्त नाटकले युद्धले दिएको घाउको गहिराइ नाप्दै हिंसामा परेका महिलाको न्यायका लागि वकालत गर्छ । ‘मञ्जिराः द म्यूटेड मेलोडी’ द्वन्द्वले दिएको घाउ लिएर बाँचिरहेकी मञ्जिरा ९सरस्वती चौधरी० को कथा हो । काठमाडौँबाट शान्ति खोज्दै बर्दिया पुग्नुभएका अधिवक्ता गोपाल९सरोज खनाल० को परिवार कहाँ मञ्जिराको पति प्रेम ९सशांक मैनाली० चालक हुनुहुन्छ ।
अधिवक्ता गोपालको पत्नी शान्ति९सरिता गिरी०लाई बर्दियाको गर्मी मन परेको छैन, उहाँ अशान्त हुनहुन्छ । अधिवक्ता पेसा छाडेर गृहिणी बन्नुभएकी शान्तिलाई तब शान्ति मिल्छ, जब गोपाललाई द्वन्द्व पीडितको न्यायसँग सम्बन्धित उच्चस्तरीय छानबिन आयोगको अध्यक्ष बनाउने खबर आइपुग्छ ।
घरमा आइपुग्नुभएका पाहुना कवीन्द्र ९अनुप न्यौपाने०ले नै गोपाल आयोगको अध्यक्ष बन्दै गरेको कुरा शान्तिको अगाडि फुत्काइदिनुहुन्छ । यसले उहाँकी पत्नी शान्तिलाई काठमाडौँ फर्किने वातावरण निर्माणमा सघाउँछ । तर, ती पाहुना कवीन्द्रको अतीतले मञ्जिरा र युद्धको विगतका कुरालाई वर्तमानमा ल्याउँछ । त्यसपछि त्यही मञ्चमा सुरू हुन्छ, छानविन । ती दृश्यलाई अभिनेता खनालले गर्न थाल्नुभएको एक महिना पुग्नै लागिसक्यो त्यही पनि उहाँका आँखा रासाउँछन् ।
“म नाटकको अन्त्यतिरका दृश्यमा आफ्ना आँशुलाई रोक्न सक्दिन । किनकि मञ्जिरा जस्तै मनमा घाउ बढाएर बस्ने कति धेरै हुनहुन्छ होला रु जसलाई कसैले सम्बोधन गरेको छैन, जसको कुनै सम्बन्ध द्वन्द्वसँग थिएन । जसले अहिले पनि आफ्नो लडाइ लडी नै रहनुभएको छ”, अभिनेता खनालले भने ।
उहाँलाई द्वन्द्वसँग जोडिएका व्यक्ति वा यसका उपलब्धिमा रमाउने व्यक्तित्व नाटक हेर्न नआउँदा दुःख लागेको छ, तर नाटक हेर्न आइपुगेका सर्वसाधारणले दिइरहनुभएको प्रतिक्रियाले उनी खुसी छन ।
“नाटक हेर्ने केही दर्शकले अब हाम्रो आवाज बुलन्द हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ, केहीले आफ्नै कथा पाएँ भन्दा मञ्जिरा पात्रलाई अङ्गाल्दै आफ्नो भावना व्यक्त गरेका छन । हामी कलाकारले आफ्नो कलाको माध्यमले उठाउन सक्ने आवाज सायद यही नै हो”, उनले भने ।
नाटकले दिएको सन्तुष्टीकै कारण अभिनेता खनाल अब वर्षमा कम्तीमा दुई नाटकमा अभिनय गर्ने योजनामा छन । विगतमा चलचित्रकै लागि नाटक छाड्नु भएका अभिनेता खनाल आउँदा दिनमा नाटकका लागि चलचित्र छाड्ने भएका छन । किनकि उस्तै र उही भूमिका गरिरहनुभएका अभिनेता खनाललाई नाटकले अनुशासित बनाएको छ ।
“विगतमा चलचित्रकै कारण केही नाटकमा आफूलाई प्रस्तुत गर्न पाइनँ । अहिले चलचित्रभन्दा पनि नाटक मेरो प्राथमिकतामा परेको छ । चलचित्रमा निरन्तर काम गरिरहँदा आफ्नो अभिनय क्षमतालाई बढाउन र मापन गर्न रङ्गमञ्चको आवश्यकता महसुस गर्छु, किनकि यहाँ हामी कलाकारलाई चाहिने अनुसाशन छ । त्यसले हाम्रो कलाकारितालाई कायम राख्न मद्दत गर्छ”, उनले भने ।
अभिनयका नयाँ शैली र भावलाई बुझ्दै आफूभन्दा कनिष्ट कलाकारसँग उही उर्जाका साथ काम गर्ने अठोटले अभिनेता खनाललाई पुनः रङ्गमञ्चमा रहरीयाभन्दा पनि मेहनती कलाकारको रुपमा परिभाषित गर्दैछ । किनकि रङ्गमञ्चमा आउने र काम गर्ने इच्छा धेरै कलाकारको हुन्छ, प्रयास पनि गर्छन् तर यहाँ चाहिने समर्पण, लगनशीलता र निरन्तरता कमै कलाकारमा देख्न पाइन्छ ।
अभिनेता खनालले रङ्गमञ्च प्रति देखाएको सम्मानले उनको यो यात्रालाई धेरै अगाडिसम्म पु¥याउने अनुमान नाट्यकर्मीले गरेका छन् । किनकि पछिल्लो समय रङ्गमञ्चलाई चलचित्रसम्म पुग्ने भर्याङ बनाउने कलाकारको भिडमा अभिनेता खनालले आफ्नो कलाकारिता बचाउन रङ्गमञ्च आएका छन।
“यो मैले आफ्नै कलाकारिताको हैसियत बुझ्न पनि अपनाउने गरेको सुत्र हो । रङ्गमञ्च आइसकेपछि वा यहाँ प्रस्तुत भएपछि कुनै पनि कलाकारलाई आफ्नो कलाकारिताबारे भ्रम भने हुँदैन, छर्लङ्ग भइन्छ । मैले यहाँबाट प्राप्त गरेको ऊर्जा र सिकाइ आगामी दिनका मेरो काममा पक्कै देखिने छ भन्ने विश्वास छ”, अभिनेता खनालले भने।
सोमनाथ खनालले निर्देशन गर्नुभएको नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मण्डला नाटकघरमा यही असार ८ गतेसम्म नियमित मञ्चन भएको थियो । आउँदो केही ‘विकेन्ड’ मा ‘बुक्ड शो’ हुने नाटक घरले जनाएको छ ।
Leave A Reply

Your email address will not be published.