काठमाडौं :
नेपालमा बेला बेलामा कसलाई सुपरस्टार,कसैलाई स्टार त कसैलाई महानायक बनाउने गरिन्छ। कहिलेकाँही यहि ट्यागको विवादित समेत बन्ने गरेको छ। राजेश हमालाई महानायक,भुवन केसीलाई सदावहार अभिनेता जस्तो ट्यागको विवाद बेला बेलामा बल्झिने गरेको छ।
पछिल्लो समय अनमोल केसीदेखि दयाहाङ राईलाई समेत सुपरस्टार भन्न थालिएको छ। सरकारी तवरबाट नभए पनि फिल्मकर्मी आफैले यो आफुखुशी ट्याग भिराउन थालेका छन्। आगामी जेठ ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘भाइरल गोर्खे’ टिमले पनि अभिनेता सौगात मल्ललाई सुपरस्टारका रुपमा प्रचार गर्न थालेको छ। २ मिनेट लामो टिजरले फिल्ममा सौगातलाई सुपरस्टाको ट्याग दिएको हो। अरुको देखासिखी गर्दै टिकटकमा भाइरल हुने रहरे पात्रको भुमिकामा सौगातलाई राखिएको छ।
निगम श्रेष्ठ निर्देशित यस फिल्मको लेखन श्रेष्ठ स्वयंको छ। फिल्ममा सौगात, सृष्टि र ऋषिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, विकास लामा, सपना चौधरी, ध्रुव थापा, सुनिल तामाङ लगायतको अभिनय छ । निर्देशक श्रेष्ठका अनुसार भाइरल प्रवृत्तिको पछि लाग्दाको प्रभाव र असरको परिणामलाई फिल्मले देखाउनेछ । ‘छड्के’, ‘छड्के २’ र ‘लालपूर्जा’पछि उनको निर्देशनमा बनेको यो चौंथो फिल्म हो।
जिएमआई फिल्मस् र निर्भाना फिल्म स्कुलको ब्यानरमा विशाल ताम्राकार, केवल जंग कुँवर र महेश लामिछानेले फिल्मको निर्माण गरेका हुन्। फिल्मको सह–निर्मातामा भुवन अधिकारी र निखिल पौडेल रहेका छन् । यसमा अमर महर्जनको डिओपी तथा सुरज महर्जनको सिनेमेटोग्राफी छ भने रवि चौधरी र भीम विश्वकर्माको संयुक्त सम्पादन तथा अमित श्रेष्ठको साउन्ड डिजाइन रहेको छ।