काठमाडौं :
सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’को छायांकन सकिएको छ। ४२ औँ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिए। उनका अनुसार काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिकाभित्रका विभिन्न स्थानमा छायांकन गरिएको हो। निर्माण टिम अब पोस्ट–प्रोडक्सनको चरणमा प्रवेश गरेको निर्देशक श्रेष्ठले बताए।
निर्देशक श्रेष्ठका अनुसार दुई गीत बाहेक स्क्रिप्टमा रहेका सम्पूर्ण दृश्यहरूको छायांकन सकिएको छ। बाँकी गीतहरूको छायांकन केही सातापछि गरिने तयारी छ।
रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुतिमा र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रमा किर्तिपुरका एक युवाको कथा प्रस्तुत गरिएको छ। अभिनेता सौगात मल्लले ‘बब डाई’को भूमिका निर्वाह गरेका छन्। नेवारी भाषामा दाइलाई ‘डाई’ भनिने भएकाले चलचित्रको नाम ‘बब डाई’ राखिएको निर्देशक श्रेष्ठले बताए।
चलचित्र कमेडी जनरामा निर्माण गरिएको भए पनि कमेडीसँगै विभिन्न सामाजिक र जीवनका यथार्थ पक्ष प्रस्तुत गरिने निर्देशकको भनाइ छ।चलचित्रमा सौगात मल्ल र सिम्रन पन्तसँगै सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन तथा बालकलाकार अग्रिम पण्डितको अभिनय रहेको छ।
मैनिषा गौचन र प्रवीण श्रेष्ठको कथामा बनेको चलचित्रका एसोसिएट निर्देशक दिनेशबहादुर राउत तथा मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन्। चलचित्रको छायांकन श्याम तामाङको टिमले गरेको हो भने सम्पादन निर्देशक प्रवीण श्रेष्ठले नै गर्नेछन्। प्रोडक्सन हेड तथा कास्टिङ डिरेक्टर नृपेश रुपाखेती हुन्। पोस्टर डिजाइन रोयल भिमसेनको रहेको छ।
स्वस्तिका श्रेष्ठको श्रृंगार, किरण थापा र सृष्टि महर्जनको कोरियोग्राफी, शंकर महर्जनको एक्सन निर्देशन र घनश्याम श्रेष्ठको आर्ट निर्देशन रहेको चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता तथा रवीन्द्र प्रजापती कार्यकारी निर्माता छन्। चलचित्रको प्रदर्शन मिति भने हालसम्म तोकिएको छैन।