सुचना, समाचार र मनोरन्जन

युवा पुस्तालाई उद्योग–व्यवसायमा जोड्ने एजेन्डासहित सौगात थापा मैदानमा

पोखरा,

युवा व्यवसायी सौगात थापाले पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले उम्मेदवारी दिएको थापाले बताएका छन्। पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई थप गतिशील, प्रतिस्पर्धी र लगानीमैत्री बनाउने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

थापाले नयाँ तथा नवउद्यमलाई प्रोत्साहन गर्ने, उद्योगी–व्यवसायीले भोग्दै आएका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि पहल गर्ने र व्यवसाय सञ्चालनका लागि सहज वातावरण निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार पछिल्लो समय युवाहरू रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने उद्यमतर्फ आकर्षित भइरहेका छन्। यस्तो अवस्थालाई संस्थागत रूपमा प्रोत्साहन गर्न पोखरा उद्योग वाणिज्य संघले स्टार्टअप, नवउद्यमी तथा नयाँ व्यवसायलाई सहजीकरण गर्ने नीति लिनुपर्ने उनको धारणा छ।

“युवालाई उद्यमसँग जोड्दै, नयाँ व्यवसायलाई प्रोत्साहन गर्दै र पोखराको उद्योग–व्यवसायलाई अझ गतिशील बनाउने मेरो प्रतिबद्धता हो,” थापाले भने।

संघलाई उद्योगी–व्यवसायीको साझा आवाजका रूपमा अझ प्रभावकारी बनाउँदै सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी व्यवसाय क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने पनि उनले बताए।

थापाको संघको कार्यसमितिमा भने नयाँ अनुभव छैन। २०८१ भदौमा भएको निर्वाचनमा खुला कार्यसमिति सदस्य पदमा १ हजार ४ सय ९४ मत प्राप्त गर्दै उनी विजयी भएका थिए। त्यसअघि र पछिसमेत गरी उनी संघको कार्यसमितिमा लगातार दुई कार्यकाल सदस्यका रूपमा काम गरिसकेका छन्।

व्यवसायिक क्षेत्रमा सक्रिय थापा पोखराको अंशुभरा ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन्। कार्यसमितिमा रहेर प्राप्त गरेको अनुभवलाई अब उद्योग उपाध्यक्षको जिम्मेवारीमा उपयोग गर्ने उनको तयारी छ।

उद्योग उपाध्यक्षमा उम्मेदवारीसँगै थापाले संघको नेतृत्वमा युवा पुस्ताको सहभागिता बढाउने र बदलिँदो व्यवसायिक वातावरणअनुसार नयाँ मुद्दालाई प्राथमिकतामा राख्ने संकेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.