सुचना, समाचार र मनोरन्जन
Sarangi

विश्वभरका वैज्ञानिकहरू नेपाल आउँदै

काठमाडौँ/

विभिन्न देशका वैज्ञानिकहरू नेपालमा आउन लागेका छन् । नेपाल मटेरियल्स साईन्स सोसाईटीले कार्त्तिक ९ देखि ११ गतेसम्म ललितपुरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी हुन विभिन्न १३ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू आउन लागेका हुन् ।

सोसाईटीले ‘इन्टरनेशनल कन्फरेन्स वन एडभान्स फन्सनल मटेरियल्स’ को आयोजना गरेको हो । उक्त सम्मेलनमा नेपालसहित साउथ कोरिया, चाइना, इण्डिया, जापान, अमेरिका, अष्ट्रेलिया, इजिप्ट, बंगलादेश, थाईल्याण्ड, इण्डोनेसिया, मंगोलिया र फिलिपिन्सका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने कार्यक्रम सह–संयोजक डाक्टर देवलप्रसाद भट्टराईले जानकारी दिए ।

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ५० जनाभन्दा बढी विदेशी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने बताए । सोसाईटीको आयोजनामा हुने उक्त सम्मेलन सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेज सह–आयोजक रहेका छन् ।

उक्त सम्मेलनमा सबैभन्दा बढी चाइनाबाट १६ जना वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहनेछ ।

सम्मेलनमा ईनर्जी एण्ड ईन्भाइरोमेन्ट विषयमा प्यानल डिसकसन हुनेछ । सम्मेलनमा इनर्जी, इन्भाइरोमेन्टल रेमिडेशन, हेल्थ केयर टेक्नोलोजी, एग्रिकल्चर, फरेस्ट वेस्ट टु एडभान्स फन्सनल मटेरियल्स लगायतका विषयमा अनुसन्धानपत्र प्रस्तुत, छलफल तथा विदेशी तथा नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताबिच अन्तरक्रिया हुने भट्टराईले बताए ।

तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गर्नेछिन् ।

सम्मेलनमा आउने विदेशी वैज्ञानिकहरूलाई नेपाल भ्रमणको क्रममा पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण समेत गराउने कार्यक्रम छ ।

पछिल्लो समय नेपालमा समेत अनुसन्धानले फड्को मारेको बताउँदै डाक्टर भट्टराईले त्यसको प्रचार प्रसार हुन नसकेको बताए । नेपाली वैज्ञानिकहरू गरेका अनुसन्धान विश्वमाझ जानकारी दिनका साथै उनीहरूले गरेका अनुसन्धानबारे नेपाली वैज्ञानिकसँग अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.