सुचना, समाचार र मनोरन्जन

भीम रानाभाटको सम्झनाको सेरोफेरोमाथि परिचर्चा

पोखरा :

प्रगतिशील साहित्यकार भीम रानाभाटको सम्झनाको सेरोफेरो संस्मरण सङ्ग्रहको बुधबार विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको घनश्याम कक्षमा परिचर्चा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा.कृष्णराज अधिकारीले भीम रानाभाटको सरल व्यक्तित्व जस्तै संस्मरणमा समाजको यथार्थलाई इमानदारीपूर्वक लेखन गरेको बताए।

साहित्यकार रुपिन्द्र प्रभावी कटु र लोकबहादुर थापामगरले सम्झनाको सेरोफेरोमाथि समीक्षा गर्दै १९ वटा जीवन जगतसँग सम्बन्धित संस्मरणले कृतिलाई गहन बनाएको धारणा राखे । कृति परिचर्चासँगै रामराज रेग्मी, डा.श्रीकान्त शर्मा खतिवडा, नारायणकैलाश सिग्देल, परशुराम कोइराला, डोलराज पाण्डे, झलकपाणी तिवारी लगायतका वक्ताले भीम रानाभाटको साहित्यिक यात्रा र योगदानले नेपाली साहित्यमा प्रगतिशील चेतनाको प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको बताए।

उनका रचनाहरूले समाजको यथार्थ चित्रण गर्दै, रूपान्तरणको मार्गप्रति पाठकलाई प्रेरित गरेकोले आगामी दिनमा साहित्यिक कृति प्रकाशनका लागि शुभकामना दिएका थिए। भीम नेपाली साहित्यमा प्रगतिशील चेतनाका सशक्त हस्ताक्षर हुन् । उनी तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका जामुने २ थान्सिङमा वि.सं. २०२३ सालमा जन्मिएका हुन् र हाल पोखरालाई आफ्नो कर्मथलो बनाएका छन् । साहित्यिक क्षेत्रमा ‘ज्यालादारी’ उपनामले परिचित रानाभाटका रगतका छिर्का मुक्तक सङ्ग्रह २०४९, रङ, रगत र मान्छे कविता सङ्ग्रह २०६४, यही हो मेरो देश मुक्तक सङ्ग्रह २०७०, आँसुको छाल हाइकु सङ्ग्रह २०७३, पग्लदैन सगरमाथा गीत सङ्ग्रह २०७४, र सम्झनाको सेरोफेरो संस्मरण सङ्ग्रह २०८१ कृति प्रकाशित छन्।

उनी पोखराबाट प्रकाशित मितेरी, प्रयोग, गण्डकी सङ्गम, साहित्य प्रभा, निगालो पत्रिकाका सम्पादक र व्यवस्थापक रहेका छन् । साहित्य शृङ्खला, गण्डकी साहित्य सङ्गम, प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घ लागयत दर्जन बढी साहित्यिक संस्थाको नेतृत्व गरेका उनको जीवन शैली र लेखनमा तादम्यता देखिन्छ । सङ्गम साँस्कृतिक मञ्चका काजी गाउँले र विकास लुङ्गेलीले रानाभाटको शब्द रचनामा स्वागत गीत प्रस्तुत गरेका थिए । गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न परिचर्चा कार्यक्रममा उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य राखेका थिए भने सचिव नारायण मरासिनीले कार्यक्रम सञ्चालन गरेको थिए ।

Leave A Reply

Your email address will not be published.