सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : शोभा गौतमको प्यानल घोषणा

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढ्दै गएको छ । संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन नजिकिँदै गर्दा वर्तमान महासचिव शोभा गौतमको नेतृत्वमा पदाधिकारी प्यानल घोषणा गरिएको छ ।

भदौ २० र २१ गते हुने अधिवेशनलाई लक्षित गर्दै शुक्रबार गौतम नेतृत्वको टोलीले उम्मेदवारी घोषणा गरेको हो । प्यानलबाट अध्यक्षमा शोभा गौतम, वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र उपमहासचिवमा यादव पोखरेलले उम्मेदवारी दिने भएका छन् ।

गौतम नेतृत्वको टोलीले आफ्नो उम्मेदवारीलाई केवल नेतृत्व परिवर्तनको विषय नभई निजी क्षेत्रको बदलिँदो आवश्यकता सम्बोधन गर्ने अभियानका रूपमा प्रस्तुत गरेको छ । उद्योग, व्यापार, पर्यटन, महिला उद्यमशीलता र युवा व्यवसायीलाई समेट्दै संघलाई अझ समावेशी र परिणाममुखी बनाउने उनीहरूको दाबी छ ।

टोलीले स्थानीय उत्पादन र बजार प्रवद्र्धन, युवा तथा महिला उद्यमशीलताको विकास, लगानीमैत्री वातावरण निर्माण तथा उद्योगी–व्यवसायीका समस्यामा सरकारसँग प्रभावकारी पैरवीलाई प्राथमिकतामा राखेको जनाएको छ ।

पोखराको पर्यटन सम्भावनालाई उद्योग–व्यवसायसँग जोड्ने, संघलाई प्रविधिमैत्री र पारदर्शी बनाउने तथा साना, मझौला र ठूला व्यवसायीको साझा आवाजका रूपमा संस्थालाई स्थापित गर्ने एजेन्डा पनि प्यानलले अघि सारेको छ ।

‘समावेशी टिम, जुझारु नेतृत्व–सबल संघ, समृद्ध पोखरा’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको गौतम पक्षले आगामी दिनमा विस्तृत नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

यससँगै पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ । गौतमसँगै वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, कार्यसमितिका उपाध्यक्ष बलराम आचार्य र पूर्वमहासचिव अर्जुन पोखरेल पनि अध्यक्षका आकांक्षी छन् ।

अध्यक्ष पदमा देखिएको बहुकोणीय प्रतिस्पर्धाले आगामी निर्वाचनमा नेतृत्व चयनसँगै संघको भावी नीति, निजी क्षेत्रका मुद्दा र पोखराको आर्थिक विकासका सवाललाई समेत बहसको केन्द्रमा ल्याउने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.