काठमाडौं :
चर्चित निर्देशक मिलन चाम्सले निर्माण गर्दै गरेको नयाँ प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारको प्रवेश भएको छ। हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले चलचित्रकी मुख्य नायिका सोल गुरुङ लाई औपचारिक रूपमा सार्वजनिक गरेको हो।
लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यसअघि केही म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन्। अब उनले ‘सुम्निमा’ मार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको यस चलचित्रमा सोलसँगै कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा र सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिने छन्।
चलचित्रको नाम सुन्दा नारीकथामा आधारित लागे पनि, यो एक शुद्ध प्रेमकथा (लभ स्टोरी) हुने निर्देशक चाम्सले बताएका छन्। उनका अनुसार चलचित्रको कथा युनिभर्सल विषयवस्तुमा आधारित हुनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिँदैछ।
राजीव थापाको लेखनमा तयार भइरहेको ‘सुम्निमा’ को दोस्रो चरणको छायांकन अब नेपालमा हुने तयारी गरिएको छ। निर्देशक मिलन चाम्स यसअघि ‘विर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ र ‘अञ्जिला’ जस्ता फरक शैलीका सफल चलचित्र निर्देशन गरेर आफूलाई सशक्त फिल्ममेकरका रूपमा स्थापित गरिसकेका छन्। उनका पछिल्लो फिल्म ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गर्दै नेपाली चलचित्र इतिहासमा सर्वाधिक आम्दानी गर्ने चलचित्र को कीर्तिमान समेत कायम गरेको थियो।