काठमाडौं : आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने तयारीमा रहेको फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ। सोमबार निर्माण टिमले फिल्ममा समावेश पहिलो गीत रिलिज गरेको हो।
पूर्वेली मारुनी भाकामा आधारित गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ। यो गीत गायिका अस्मिता अधिकारीको पहिलो मारुनी गीत हो। गीतको सङ्गीत तथा शब्द प्रशान्त सिवाकोटीले नै सिर्जना गरेका हुन्। भोजपुरमा छायाङ्कन गरिएको यस गीतको भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङले नृत्य प्रस्तुत गरेका छन्। गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।
लामो समयको अन्तरालमा फिल्ममा मारुनी गीत समावेश भएको हो। जसले दर्शकमाझ विशेष चासो जगाउने अपेक्षा लिएको फिल्मका निर्देशक अर्जुन सुवेदीले बताए। यो फिल्म इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ। निर्देशक सुवेदीका अनुसार यस फिल्मले दर्शकलाई फरक स्वादको कथासँग जोड्नेछ। फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबीचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ।
प्रकाश सपुत र परीक्षा लिम्बुको जोडी पहिलो पटक यस फिल्ममार्फत एकसाथ पर्दामा देखिँदैछ। फिल्ममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहेको छ। यसमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय गरेका छन्।
यस फिल्ममा अन्य गीतहरूमा सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। फिल्मलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन्। प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन्। रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेका छन् भने आरआर फिल्मस् प्रालिले नेपालमा वितरण गर्नेछ। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।