कास्की/
पोखरा स्पोर्ट्स अवार्डको नवौं संस्करणका लागि चार वटा विधामा मनोनयन सार्वजनिक भएको छ । यही वैशाख २६ गते पोखरामा हुने अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज मनोनयन सार्वजनिक गरेको हो ।
वर्ष उत्कृष्ट खेलाडी महिलामा भलिबलतर्फ म्याग्दीकी अरुणा शाही, फेन्सिङतर्फ स्याङ्जाकी कृपा गुरुङ र आईटीएफ तेक्वान्दोतर्फ बाग्लुङकी सुस्मिता थापा मनोनयनमा परेकी छिन् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी पुरुषतमा भलिबलतर्फ नवलपुरका विश्वास अधिकारी, टेनिसतर्फ कास्कीका प्रदीप खड्का र फुटबलतर्फ कास्कीका सुमित श्रेष्ठ मनोनयनमा परेका छन् ।
उदीयमान खेलाडीमा एथ्लेटिक्सतर्फ बाग्लुङका बादल कार्की, भलिबलतर्फ स्याङ्जाका जीतबहादुर सार्की र क्रिकेटतर्फ कास्कीकी रचना चौधरी तथा तथा वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसतर्फ कास्कीका निरज थापा, भलिबलतर्फ स्याङ्जाका रमेश केसी तथा फुटबलतर्फ कास्कीका राजेन्द्र तामाङ मनोनयनमा परेका छन् ।
अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घ–संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले २०७२ सालदेखि वर्षेनि अवार्ड प्रदान गर्दै आएको मञ्चका अध्यक्ष मानबहादुर घर्तीले बताउनुभयो ।