सुचना, समाचार र मनोरन्जन

पोखराको व्यावसायिक सम्भावनालाई परिणाममा बदल्ने प्रधानाङ्गको एजेन्डा

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा महासचिव पदका उम्मेदवार सुदीप प्रधानाङ्गले उद्योगी:व्यवसायीका समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्ने र पोखराका व्यावसायिक सम्भावनालाई परिणाममा बदल्ने एजेन्डा अघि सारेका छन्।

विगत १५ वर्षदेखि हार्डवेयर व्यवसायमा सक्रिय प्रधानाङ्ग विरौटा हार्डवेयर एण्ड सेनेटरीका सञ्चालक हुन्। व्यवसाय सञ्चालनका क्रममा भोगेका अनुभव र उद्योगी–व्यवसायीका दैनिक समस्यालाई नजिकबाट बुझेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने उनको भनाइ छ।

उनको मुख्य चुनावी सन्देश छ”व्यवसायीको समस्या सुन्ने मात्र होइन, समाधानका लागि परिणाम निकाल्ने।” प्रधानाङ्गका अनुसार बजारको अनिश्चितता, लगानीको वातावरण, व्यवसाय सञ्चालनका चुनौती तथा समय–समयमा देखिने असामान्य परिस्थितिका कारण निजी क्षेत्र निरन्तर दबाबमा छ। कोभिड महामारीदेखि नाकाबन्दीजस्ता परिस्थितिले व्यवसायीले विभिन्न चुनौती सामना गरिसकेको भन्दै उनले आगामी दिनमा पनि जस्तोसुकै संकटमा व्यवसायीको साथमा उभिने संस्थागत नेतृत्व आवश्यक रहेको बताए।

प्रधानाङ्ग ६ वर्षअघि पोखरा उद्योग वाणिज्य संघको ३३औँ महाधिवेशनबाट कार्यसमिति सदस्यका रूपमा संघको नेतृत्वमा प्रवेश गरेका थिए। त्यसपछि लगातार दुई कार्यकाल सदस्यका रूपमा काम गरेपछि ३५औँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका हुन्।

उपमहासचिवका रूपमा काम गर्दा महासचिवको अनुपस्थिति वा व्यस्तताका समयमा संघका विभिन्न जिम्मेवारी सम्हाल्ने अवसर पाएको उनले बताएका छन्। यही संस्थागत अनुभवका आधारमा अहिले महासचिव पदमा आफू स्वाभाविक दाबेदारका रूपमा अघि बढेको उनको भनाइ छ।

व्यवसायीबाट प्राप्त विश्वासलाई आफ्नो उम्मेदवारीको मुख्य शक्ति मानेका प्रधानाङ्गले महासचिवको उम्मेदवारीलाई पद प्राप्तिको प्रयासभन्दा पनि संघमा पाएको जिम्मेवारीलाई थप प्रभावकारी बनाउने अवसरका रूपमा लिएका छन्।

प्रधानाङ्गले पोखराको निजी क्षेत्रले समस्यामात्र होइन, सम्भावना र अवसरको समेत खोजी गर्नुपर्ने बताएका छन्।

पर्यटन, व्यापार, सेवा तथा अन्य व्यवसायिक गतिविधिका लागि पोखरामा पर्याप्त सम्भावना रहे पनि त्यसलाई अपेक्षित रूपमा आर्थिक परिणाममा बदल्न नसकिएको उनको बुझाइ छ। उपलब्ध अवसरको पहिचान र प्रभावकारी उपयोग गर्न सके व्यवसाय विस्तारसँगै रोजगारी र आर्थिक गतिविधि बढाउन सकिने उनी बताउँछन्।

उनले उद्योगी–व्यवसायीका समस्यालाई वर्गीकरण गरी प्राथमिकता निर्धारण गर्ने, सम्बन्धित सरकारी तथा सरोकारवाला निकायसँग संवाद र सहकार्य बढाउने तथा समाधानका लागि संस्थागत पहल गर्ने योजना अघि सारेका छन्।

संघलाई केवल बैठक र कार्यक्रम गर्ने संस्थाका रूपमा सीमित नराखी व्यवसायीले कठिन समयमा प्रत्यक्ष रूपमा साथ र सहयोग अनुभूति गर्ने संस्थाका रूपमा विकास गर्नुपर्ने उनको जोड छ।

प्रधानाङ्ग बलराम आचार्य नेतृत्वको समूहबाट महासचिव पदमा चुनावी मैदानमा छन्। घरदैलो अभियानका क्रममा उद्योगी–व्यवसायीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भन्दै उनले आफ्नो उम्मेदवारीप्रति उत्साह बढेको बताएका छन्।

अबको आफ्नो प्राथमिकता अनुभवलाई नेतृत्वमा बदल्ने, व्यवसायीको आवाजलाई संस्थागत रूपमा बलियो बनाउने र संघलाई समस्या समाधानमा परिणाममुखी बनाउने रहेको प्रधानाङ्गको भनाइ छ।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ। महाधिवेशनमा कुल २ हजार ७ सय ३१ मतदाता रहेका छन्।

महासचिव पदका उम्मेदवार प्रधानाङ्गले उद्योगी–व्यवसायीको विश्वासलाई व्यवहारिक काममा रूपान्तरण गर्ने प्रतिबद्धतासहित आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.