सुचना, समाचार र मनोरन्जन

पोखरामा सुगम पोखरेलको ‘मेरो एउटा साथी छ’ कन्सर्ट हुने

पोखरा :

प्रेम दिवसको अवसरमा पोखरामा पपगायक सुगम पोखरेलको कन्सर्ट ‘मेरो एउटा साथी’ हुने भएको छ। ‘प्रेमिल मनका लागि’ १४ फेब्रुअरीमा सुगम र बाजागाजा ब्याण्डले प्रस्तुति दिने भएको हो ।

पोखराको लेभल्स क्लबमा मेन मिडिया र एसटी क्रियसनको आयोजनामा नेपाली पपगीतका प्रशिद्ध गायक पोखरेललाई प्रस्तुत गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

लोकप्रिय गायक सुगमले आफ्ना रोज्जा प्रेम गीत प्रस्तुत गर्ने मेन मिडियाका प्रवन्ध निर्देशक सुन्दर बस्यालले जानकारी दिए । जीवनमा गास, बास, कपाससँगै अर्को प्रेम पनि अनिवार्य रहेको बताउँदै बस्यालले त्यसलाई संगीतले जोड्ने विश्वास व्यक्त गरे।सुगमलाई अर्का चर्चित गायक कमल र केही अन्य चर्चित कलाकारको पनि प्रस्तुति रहने आयोजक एसटी क्रियसनका प्रवन्ध निर्देशक सुरज थापाले बताए।

‘सुगम नेपाली संगीतको क्षेत्रमा आफैं एक ब्राण्ड हुन् । उनका गीतहरुले प्रेम दिवसमा तन्नेरीहरुलाई झुमाउने छ,’ थापाले भने, ‘प्रेम र संगीतमा नयाँ स्वाद पस्किने जमर्को हामीले गरेका छौं ।’

मैत्रीभाव, प्रेम र एकताका भाव बोकेका सदाबहार गीतमार्फत सबै उमेर समूहका दर्शकलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको बस्यालले बताए। नेपाली पपलाई मुख्यधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका सुगमले ‘मेरो संसार’, ‘फेरि त्यो दिन सम्झन चाहन्न’ लगायतका सयौं कालजयी गीतमार्फत माहोल तताउने छन्।

पत्रकार सम्मेलनमा बोल्दै गायक विनोद बानियाले प्रणय दिवसमा प्रेमको भाव बोकेका गीत–संगीत मार्फत दर्शकले मनोरञ्चन लिन सक्ने बताए । यस्ता गतिविधिले सहरलाई जिवन्त राख्ने उनको भनाइ थियो। प्राविधिक कारणले आफ्नो सांगीतिक समूह जोडिन नपाए पनि सुगमको प्रस्तुतिले नै सबैलाई जोड्ने बानियाले बताए।

चुनावी गतिविधि भइरहेको र मतदानको मितिसमेत नजिकै रहेकाले क्लबभित्र कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।लेभल्समा करिब ७ सय जनाले प्रत्यक्ष रुपमा कार्यक्रमको अवलोकन गर्न क्लबका सञ्चालक अमित रोकाले बताए। सुरक्षाको व्यवस्थापनमासमेत कुनै कमी नरहेको उनको भनाइ थियो। कार्यक्रमको लागि ९ सय ९९ रुपैयाको टिक इसेवा मार्फत खरिद गर्न सकिने र कार्यक्रम स्थलमा टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.