Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- महेश र अञ्जनाको मुख्य भूमिका रहने फिल्म ‘आशा’ को घोषणा, माघ १ गते प्रदर्शन हुने
- महानायक राजेश हमालको राजनीतिक विमर्श: सरकारको सय दिन, परराष्ट्र नीति र युवा आन्दोलनमाथि टिप्पणी
- पप गायक राजु लामाद्वारा युरोपको सर्वोच्च शिखर ‘माउन्ट एल्ब्रस’ को सफल आरोहण
- रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
- ‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
- राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
- प्रधानमन्त्री र मन्त्रीविरुद्ध चुइक्क नबोल्न ओलीको आग्रह
- चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
- राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
भरतपुरमा प्राङ्गारिक सूर्यमुखी खेती
भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाएका छन । अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो ।
उनले भने, “पाँच दिनसम्म दैनिक १० जनाको श्रम प्रयोग गरी रोपाइँ सम्पन्न गरिएको छ, यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ ।” उनले अघिल्लो पटक सूर्यमुखीको तेल लिटरमा रु ८०० र दाना प्रतिकिलो रु ५०० मा बिक्री भएको जानकारी दिए । यसपटक अधिकारीले एकल रूपमा खेती गरेका हुन ।
दुई वर्षअघि भने चार जनाको समूह बनाएर सोही स्थानमा प्राङ्गारिक सूर्यमुखीखेती गरिएको थियो । त्यो समयमा फूल फुल्दा खेत क्षेत्र आकर्षक बनेको र दैनिक रूपमा फोटो खिच्न, भिडियो बनाउन तथा घुम्न आउनेको सङ्ख्या उल्लेख्य रहेको उनले जानकारी दिए ।
बाली राम्रो भएकाले ढकमक फूलले स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अधिकारीको दाबी छ । फूल फुलेपछि क्षेत्र मौरी चरनका लागि पनि उपयुक्त मानिन्छ । लामो समयदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले यस क्षेत्रमा विविध बाली लगाउँदै आएका छन ।
सूर्यमुखीखेतीलाई बाह्य प्रभावबाट जोगाउन खेतको छेउ–छेउमा राज्मा रोपेर ‘बफर जोन’ तयार गरिएको उनले बताए । उनले भने, “श्रीपुर गाजर उत्पादनका लागि पनि परिचित क्षेत्र हो, मैले प्राङ्गारिक रूपमा गाजर पनि लगाएको छु ।”
उनको अगुवाइमा यहाँका साथै जिल्लाका प्राङ्गारिक समूहहरूले अन्य विभिन्न बाली लगाउँदै आएका छन् । करिब चार दशकदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले धेरै कृषकलाई जैविक खेतीतर्फ आकर्षित गर्ने गरेका छन ।