सुचना, समाचार र मनोरन्जन

वेब प्रणालीमा साइबर सुरक्षा जोखिमबारे एससीएससीले जारी गर्‍यो नयाँ एड्भाइजरी

काठमाडौँ,

वेबसाइट तथा अनलाइन प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम भेटिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र(एससीएससी) ले वेब प्रणालीहरूमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी फेला पारेको हो ।

यो जोखिम कम गर्न केन्द्रले वेबसाइट सञ्चालकहरूलाई अत्यन्त जरुरी साइबर सुरक्षा सतर्कता (एड्भाइजरी) जारी समेत गरेको छ।

केन्द्रका अनुसार हाल वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनका लागि प्रयोग गरिने पीएचपी र सोसँग सम्बन्धित प्रणालीहरू अपाचे, पीएचपी-एफपिएम, लाइटस्पिड आदि तथा सामग्री व्यवस्थापन प्रणालीहरू वर्डप्रेस, जुम्ला, ड्रुपल, म्याजेन्टो आदिमा दुई वटा गम्भीर प्राविधिक सुरक्षा कमजोरीहरू देखिएका छन्।

यस्ता कमजोरीका कारण सरकारी तथा गैरसरकारी निकायका अनलाइन प्रणालीहरूमा साइबर आक्रमणकारीले अनधिकृत पहुँच पुर्‍याउने वा क्षति पुर्‍याउने उच्च जोखिम रहेको केन्द्रले जनाएको छ।

Chaka Panja

साइबर जोखिमबाट बच्न केन्द्रले सम्बन्धित सबै निकायहरूलाई तत्काल देहायबमोजिमका सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ ।

१. प्रणाली अपग्रेड गर्नुपर्ने : प्रयोगमा रहेका पीएचपी प्रणालीहरूलाई यथाशीघ्र सुरक्षित संस्करणहरू (८.२.३५+, ८.३.३६+, ८.४.२७+ वा ८.५.१२+) मा स्तरोन्नति गर्नुपर्नेछ।

२. पुराना संस्करण अनिवार्य रूपमा विस्थापन गर्नुपर्ने : पीएचपी ८.१ वा सोभन्दा पुराना संस्करणहरूको सुरक्षा सुधार (प्याच) उपलब्ध नहुने भएकाले त्यस्ता वेबसाइट तथा प्रणालीहरूलाई अनिवार्य रूपमा नयाँ सुरक्षित संस्करणमा सार्नुपर्ने ।

३. सेवा पुनःसञ्चालन : प्रणालीमा सुधार गरेपछि नयाँ सुरक्षित फाइलहरू पूर्ण रूपमा कार्यान्वयनमा आउनका लागि वेब सेवाहरू (जस्तै: अपाचे, पीएचपी-एफपीएम आदि) लाई अनिवार्य रूपमा रिस्टार्ट गर्नुपर्ने।

४. तत्काल सुधार नभए प्रणाली आइसोलेट गर्नुपर्ने : यदि कुनै प्रणाली तत्काल स्तरोन्नति वा सुधार गर्न सम्भव नभएमा सम्भावित साइबर आक्रमणबाट जोगाउन त्यस्ता प्रणालीलाई सार्वजनिक इन्टरनेटको पहुँचबाट हटाएर सुरक्षित आन्तरिक सञ्जालमा मात्र राख्न वा अस्थायी रूपमा सेवा बन्द गर्न केन्द्रले आग्रह गरेकाे छ।

Leave A Reply

Your email address will not be published.