पोखरा,
तनहुँ जिल्लाका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन्। यस पटक जिल्लाभरिका पालिकाहरूले कुल रु ७ अर्ब ७८ करोड २६ लाख २० हजार ८७३ को बजेट ल्याएका हुन्। कुल बजेटमध्ये व्यास, शुक्लागण्डकी, भानु र भीमाद गरी चारवटा नगरपालिकाले रु ४ अर्ब ११ करोड ९३ लाख ४५ हजार २४ विनियोजन गरेका छन् भने बाँकी ६ वटा गाउँपालिकाको हिस्सा रु ३ अर्ब ६६ करोड ३२ लाख ७५ हजार ८४९ रहेको छ। जिल्लाका अधिकांश पालिकाले असार १० गते बुधबार बजेट प्रस्तुत गरे पनि म्याग्दे र शुक्लागण्डकीले भने असार ८ गते नै बजेट सार्वजनिक गरिसकेका थिए।
सदरमुकाममा रहेको व्यास नगरपालिकाले सबैभन्दा ठूलो रु १ अर्ब ५० करोड २० लाख १ हजारको बजेट ल्याएको छ। उपप्रमुख इन्दिरा दरैका अनुसार नगरपालिकाले चालुतर्फ ६८.१६ प्रतिशत अर्थात् रु १ अर्ब २ करोड ३७ लाख र पुँजीगततर्फ ३१.८४ प्रतिशत अर्थात् रु ४७ करोड ४२ लाख विनियोजन गरेको छ। व्यासले सबैभन्दा धेरै सामाजिक विकासतर्फ रु ७२ करोड २९ लाख छुट्याएको छ भने पूर्वाधारमा रु २६ करोड र सुशासनतर्फ रु ४२ करोड ९८ लाख खर्चिने लक्ष्य राखेको छ। यस बजेटको मुख्य स्रोत सङ्घीय सरकारको सशर्त चालु अनुदान र आन्तरिक आय नै हो।
यता शुक्लागण्डकी नगरपालिकाले रु १ अर्ब १३ करोड ५४ लाखको बजेट प्रस्तुत गर्दै पूर्वाधारमा रु ३ करोड ९१ लाख र सामाजिक विकासमा रु ३ करोड ४२ लाख खर्चिने योजना बनाएको छ। उपप्रमुख खुमबहादुर विकका अनुसार प्रशासनिक खर्चका लागि रु १६ करोड र वडागत सिलिङका लागि रु ९ करोड छुट्याइएको छ। यस्तै, भानु नगरपालिकाले रु ८४ करोड ६६ लाख र भीमाद नगरपालिकाले रु ६३ करोड ५३ लाखको बजेट नगरसभामार्फत अघि सारेका छन्।
गाउँपालिकाहरुतर्फ म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको छ, जसमा चालुतर्फ रु ४७ करोड ९३ लाख र पुँजीगततर्फ रु २६ करोड ३९ लाख व्यवस्था गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो। म्याग्देले सामाजिक विकासमा रु ३३ करोड १६ लाख र पूर्वाधारमा रु २५ करोड ३९ लाख विनियोजन गरेको छ। जिल्लाका अन्य गाउँपालिकाहरूमा बन्दीपुरले रु ६८ करोड ७८ लाख, आँबुखैरेनीले रु ६४ करोड, देवघाटले रु ५५ करोड ५८ लाख, ऋषिङले रु ५३ करोड ६२ लाख र घिरिङ गाउँपालिकाले सबैभन्दा कम रु ५० करोडको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको विकास र समृद्धिको खाका कोरेका छन्।