सुचना, समाचार र मनोरन्जन

तराईमा उखरमाउलो गर्मीः नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने

काठमाडौँ,

जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार देशका तराई क्षेत्रमा अत्यधिक गर्मी हुने देखिएको छ।

विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम उच्च बिन्दुमा पुग्ने पूर्वानुमान छ। तराईका अधिकांश सहरमा दिउँसो ‘तातो दिन’ महसुस हुनेछ भने पहाडी तथा हिमाली भेगका विभिन्न सहरमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

पूर्वानुमान विवरणअनुसार आज देशकै सबैभन्दा बढी गर्मी नेपालगन्जमा हुनेछ। त्यहाँको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्नेछ। त्यसैगरी दिपायल, धनगढी र भैरहवाको अधिकतम तापक्रम पनि ३८ देखि ४० डिग्री सेल्सियस रहनेछ। यी सहरहरूमा दिउँसो अत्यधिक गर्मी हुने र मौसम पूर्ण रूपमा ’तातो दिन’ का रूपमा रहनेछ।

वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा पनि अधिकतम तापक्रम ३४ देखि ३७ डिग्री सेल्सियससम्म पुग्नेछ। रातिको समयमा भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

तराईमा तापक्रम बढ्दा पहाडी र हिमाली भूभागका सहरहरूमा भने वर्षाको सम्भावना देखिएको छ। पोखरा, धनकुटा र ताप्लेजुङमा दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। यसैगरी सङ्घीय राजधानी काठमाडौँसहित ओखलढुङ्गा, विराटनगर, जोमसोम र जिरीमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। पोखरा र ताप्लेजुङमा ४० प्रतिशत वर्षाको सम्भावना देखाइएको छ।

रातिको समयमा पनि पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहनेछ। विराटनगर र जोमसोममा भने राति आंशिक बदली मात्र हुनेछ।

डडेल्धुरा, जुम्ला र धरानलगायतका सहरमा वर्षाको सम्भावना नरहे पनि दिउँसो र राति दुवै समयमा मौसम आंशिक बदली रहने पूर्वानुमानमा उल्लेख छ। जुम्लामा सबैभन्दा कम अधिकतम तापक्रम २७ देखि २९ डिग्री र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस रहनेछ।

Leave A Reply

Your email address will not be published.