सुचना, समाचार र मनोरन्जन

पोखराको ताय मचा नाच शनिबार ललितपुर महानगरपालिका–१ क्षेत्रको कला डबु–२ मा प्रदर्शन हुने

पोखरा,

नेवारी कला, संगीत र नृत्यको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय प्रोजेक्ट बाजा समूहले राजधानीमा आयोजना हुने ‘कला डबु–२ Rhythm & Roots’ कार्यक्रममा पोखराबाट प्रतिनिधित्व गर्दै परम्परागत ताय मचा नाच प्रस्तुत गर्ने भएको छ।

नेवारी समुदायको मौलिक सांस्कृतिक पहिचान झल्काउने उक्त कार्यक्रम ‘द नेवार्स’ को आयोजनामा तथा नेबिको (Nebico) को प्रस्तुति सहयोगमा यही सनिबार (माघ २४ गते) पाटनको कोपुण्डोल (ललितपुर महानगरपालिका–०१) क्षेत्रमा आयोजना हुँदैछ। ‘सुर–तालसँग शिक्षाको यात्रा’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रमलाई कन्सर्ट फर कज का रूपमा समेत लिइएको छ।

पोखरामा आधारित प्रोजेक्ट बाजा समूहले यस अवसरमा गाईजात्रा (नेवारी भाषामा सपारू) पर्वसँग सम्बन्धित ताय मचा नाच प्रस्तुत गर्दै पोखरामा विकसित हुँदै आएको नेवारी सांस्कृतिक अभ्यासलाई राजधानीमा चिनाउने तयारी गरेको हो। यस प्रस्तुतिलाई उपत्यका बाहिरका नेवारी समुदायको सांस्कृतिक निरन्तरताको प्रतिनिधि उदाहरणका रूपमा हेरिएको छ।

प्रस्तुतिमा रोहित रञ्जित, अनुप ताम्राकार, सुमित रञ्जितसहित १२ जना अन्य कलाकारहरूको सहभागिता रहनेछ। नृत्य र परम्परागत बाजाको संयोजनमा आधारित प्रस्तुतीलाई मौलिक शैलीमै प्रस्तुत गरिने समूहले जनाएको छ।

ताय मचा नाच नेवारी समुदायमा विशेषगरी गाईजात्रा पर्वका अवसरमा प्रस्तुत गरिने परम्परागत नृत्य हो। यस नृत्यमा चारवटा परी पात्र विभिन्न रङका आकर्षक भेषभूषामा देखिन्छन् भने लख्खर पडे (जोकर पात्र) ले हास्य र व्यङ्ग्यका माध्यमबाट सामाजिक सन्देश प्रवाह गर्छ। प्रस्तुतीमा खिन, झ्याली, ताा, छिनिमिनी र ढल्की जस्ता परम्परागत नेवारी बाजाको प्रयोग गरिन्छ, जसले यसको सांगीतिक संरचनालाई सशक्त बनाउँछ।

सांस्कृतिक अध्येताहरूका अनुसार ताय मचा नाच मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक चेतना, सामुदायिक सहभागिता र सांस्कृतिक स्मृतिसँग गाँसिएको अभ्यास हो। यही कारण पछिल्ला वर्षहरूमा यस नृत्यप्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको देखिन्छ।

पोखरामा ताय मचा नाचको अभ्यास पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्तार भएको छ। केही वर्षअघिसम्म सीमित ६–७ टोलमा मात्र प्रस्तुत हुने यो नृत्य हाल ४० भन्दा बढी टोल तथा समूहहरूद्वारा अभ्यास र प्रदर्शन हुँदै आएको छ।

प्रोजेक्ट बाजा समूहका सदस्यहरूका अनुसार यस्ता कार्यक्रमले परम्परागत नेवारी बाजा र नृत्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रभावकारी भूमिका खेलिरहेका छन्। पोखराबाट राजधानीमा हुने यो प्रस्तुतीले उपत्यका र उपत्यका बाहिरका नेवारी समुदायबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।

समूहले आगामी दिनमा पनि ताय मचा नाचलगायत नेवारी परम्परागत बाजा र नृत्यलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित निरन्तर सक्रिय रहने जनाएको छ।

Leave A Reply

Your email address will not be published.