सुचना, समाचार र मनोरन्जन

‘पोखराको पर्यटन व्यवसायमा महिलाहरुको संलग्नता चाखलाग्दो’

सन्तोष बस्याल

पोखरा

पोखरा पर्यटकीय शहर हो । यहाँको सुन्दर प्राकृतिक स्वरुपमा पर्यटक लालयित छन् । पोखराको पर्यटन क्षेत्रलाई सुन्दर बनाउन जति यहाँका पुरुष पर्यटन व्यवसायीहरुको हात छ त्यति नै महिला पर्यटन व्यवसायीहरुको समेत हात छ । पोखराका महिला पर्यटन व्यवसायीहरु पनि लगानी गर्न हौसिएको देखिन्छ । पर्यटन व्यवसायमा एक पछि अर्को व्यवसायमा महिलाहरुको सहभागिता पनि चाखलाग्दो नै छ । कोभिड जस्तो महामारी होस् या मन्दीका समय उनीहरु पछि हटेका छैनन् । बरु विभिन्न समयमा लगानी र अवसरको विषयमा कार्यक्रमको आयोजना गर्दै महिला व्यवसायीहरुलाई हौसला प्रदान गरिएको छ ।

महिला व्यवसायीहरु संगठीत हुँदा पोखराको पर्यटन व्यवसाय चलायमान बनिरहेको छ । समस्या भलै होला तर समस्याबाट भागेका भने छैनन् यहाँका महिला व्यवसायीहरु । समस्यासँग जुधेर आत्मनिर्भरतामा लागिरहेको पाइन्छ । पोखराको पर्यटन क्षेत्रमा क्रियाशिल संस्था हो “पर्यटन व्यवसायी महिला संघ (टेवान)” । जसले विभिन्न समयमा पर्यटनमा लागेका महिलाहरुको नेतृत्व विकासमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । नेतृत्व विकासका अलावा महिलाहरुद्वारा उत्पादित वस्तुहरुको बिक्री तथा प्रवद्र्धन गर्ने अवसर समेत प्रदान गरेको छ ।

शनिबार मात्र पोखरामा आयोजना भएको गण्डकी प्रदेशमा लगानी क्षेत्रमा महिलाहरुको नेतृत्व र अवसरहरु विषयक कार्यक्रममा टेवान सह—आयोजक थियो । जसमा प्रदेशका महिला व्यवसायीहरुको अवस्थाका बारेमा चित्रित गरिएको थियो । कार्यक्रममा महिला नेतृत्व र अवसरका विषयमा शिवराज भट्टले आफ्नो धारणा प्रस्तुत गरे । उनका अनुसार प्रदेशमा लगानी गर्ने महिला व्यवसायीहरु बढ्दै गएको उल्लेख गरे । गण्डकी प्रदेशका महिला व्यवसायीहरुमा विस्तारै नेतृत्व विकास र लगानी गर्ने आँटमा वृद्धि भएको उनले बताए । आत्मनिर्भरतामा यहाँका महिलाहरु लागि रहेको अभिव्यक्ति उनको छ ।


नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले सबै किसिमले अत्यन्तै राम्रो ठाउँ पोखराको पर्यटन प्रर्वद्धन सँगै व्यवसाय प्रवद्र्धनमा लाग्न नीति निर्माण तहबाट नै सहयोग मिल्ने प्रतिबद्धता व्यक्त गरे । टेवानसँग मिलेर आगामी दिनमा पनि मन्त्रालयले कार्यक्रम गर्ने उनले उल्लेख गरे ।

युरोपियन युनियनका सिनियर प्रोग्राम म्यानेजर मिम हमालले पोखरामा महिला नेतृत्व विकास र अवसरका विषयमा कार्यक्रम गर्नुपर्ने आवश्यकता ठानेर आयोजना गरिएको बताए । यस्तो कार्यक्रमले महिलाहरुको नेतृत्व विकासमा टेवा पुग्ने विश्वास उनको छ ।

टेवानकी अध्यक्ष कमला गिरीले २०७४ सालमा टेवान स्थापना भई पोखरामा छरिएर रहेका महिला व्यवसायी दिदीबहिनीहरुलाई संगठित गर्दै आएको बताइन् । टेवानले महिला व्यवसायीहरुको नेतृत्व विकासमा सहयोग पुगोस् भन्दै यस अघि पनि विविध कार्यक्रम गर्दै आएको उनले उल्लेख गरिन् । पोखरा मात्र नभई पोखरा बाहिरका महिलाहरुलाई समेत संगठित गराउने प्रयास टेवानको भएको उनको भनाई छ । नेतृत्वमा चुनौती आएपनि त्यसलाई अवसरको रुपमा लिएर आफु अगाडि बढिरहेको तर्क उनको छ ।

टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले गण्डकीमा टुरिजम सर्भिस नम्बर एक भएकाले यसको संरक्षण र परिमार्जनमा लाग्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । महिलाहरु महिलाबाट नै डोमिनेट हुने हुँदा मिलेर जानुको विकल्प नभएको तर्क उनको छ । महिलाको नेतृत्वमा इमानदारिता हुने उनले बताए । टेवानका सल्लाहकार इन्दिरा बरालले गण्डकी प्रदेशका सेवा अन्तर्गत महिलाको भूमिका पर्यटनमा महत्पूर्ण रहेको बताइन् ।

युरोपियन युनियनको आयोजनामा भएको कार्यक्रममा टेवान सहआयोजक थियो ।

Leave A Reply

Your email address will not be published.