सुचना, समाचार र मनोरन्जन

बन्दीपुरको थानीमाई मन्दिर जहाँ, छानो राखिदैन

प्रमिला कुँवर, पोखरा

तनहुँको बन्दीपुरमा रहेको थानीमाई मन्दिरले अनौठो विशेषता बोकेको छ । मन्दिरको विशेषता के छ भने माथि पालि त देखिन्छ तर त्यसमाथि छानो छैन । यही परम्परा र विश्वासका कारण थानीमाई मन्दिर अचम्मको छ । मन्दिरमा छानो राख्न नहुने धार्मिक मान्यता रहेको थानीमाई पर्यटकीय वातावरण संरक्षण समिति अध्यक्ष सनदकुमार श्रेष्ठले बताए । थानीमाईको अर्थ स्थानीय देवता भन्ने हुन्छ । जहाँ थानी भनेको स्थानीय र माई भनेको देवी भएको उनको भनाइ छ ।

मन्दिरमा मंगलबार पूजा हुन्छ भने विशेषगरी कात्तिक महिनाको हरेक मंगलबार भक्तजनको भीड लाग्छ । श्रेष्ठका अनुसार २०५१/२०५२ सालतिर बन्दिपुर माथीको डाँडा थानीमाई मन्दिर स्थापना गरिएको हो । गुरुङ समुदाय बसोबास गर्दै आएको यो डाँडा ‘गुरुङचे डाँडा’ नामले पनि परिचित छ । मन्दिर भएको ठाउँमा एक समय पुस महिनामा एउटा ठूलो आगोको ज्वाला आएर बसेको किंवदन्ती रहेको श्रेष्ठले सुनाए ।

त्यो ज्वाला दैवी शक्ति ठानी खोजतलास गर्दा तनहुँकै वसन्तपुरको थानीमाईको एउटा सन्तान आएर बसेको भन्ने ज्योतिषले बताए । त्यहाँ एउटा मूर्ती पनि भेटियो र गाउँलेले त्यस स्थानमा देवीको बास बसेको विश्वासका आधारमा मन्दिर बनाउने निधो गरिएको थियो । त्यतिखेर गाविस अध्यक्ष रवि भट्टराईलाई देउता बसाउने समितिको अध्यक्ष र स्थानीय गोवद्र्धन भट्टराईलाई सचिव बनाइयो । त्यसपछि त्यहाँ देउता बसाउने कुरा भयो ।

गाविसमा दिउँसो रुद्री, होमहोमादी गरियो र बेलुका सत्यनारायणको पूजा लगाइयो । त्यसको भोलिपल्ट फूलको माला, डोली लगायत डाँडामा लगियो र देवता स्थापना गरियो । त्यहाँ खड्गदेवी मन्दिरका पुजारीले पूजा गर्छन् ।

 

‘देवी आकाशबाट आउजाउ गर्छिन्, ढोकाबाट नभई छानाबाट आउजाउ भएकाले छानो खुल्लै हुनुपर्छ भन्ने विश्वासले मन्दिरमा छानो हालिँदैन ।

‘देवी आकाशबाट आउजाउ गर्छिन्, ढोकाबाट नभई छानाबाट आउजाउ भएकाले छानो खुल्लै हुनुपर्छ भन्ने विश्वासले मन्दिरमा छानो हालिँदैन । ‘देवी आकाशबाट आउजाउ गर्छिन्, ढोकाबाट नभई छानाबाट आउजाउ भएकाले छानो खुल्लै हुनुपर्छ भन्ने विश्वासले मन्दिरमा छानो हालिँदैन । यही कारणले अन्य ठाउँको थानीमाई मन्दिरमा पनि छानो नहुने परम्परा छ,’ श्रेष्ठले भने । मन्दिर जीर्ण र पुरानो डिजाइनको भएकाले पुनर्निर्माण गर्न लागिएको श्रेष्ठले जानकारी दिए ।

मन्दिर आर्कषक नभएकाले नयाँ स्वरुपमा बनाउनका लागि बन्दीपुर गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्टाएको उनले जानकारी दिए । ‘पुनर्निर्माण गर्न ८६ लाख रुपैयाँ लाग्ने अनुमान छ । पानी, शौचालयको व्यवस्था गरिनेछ । मुकेन्देश्वरी मिनी ग्रेटवाल पनि छिट्टै सम्पन्न गरिनेछ,’ उनले भने, ‘मन्दिरको दक्षिणपट्टि ३ सय मिटर तल रक गार्डेन, ठाउँ ठाउँमा पार्क बनाउने, त्यही क्षेत्रतिर शिवको मूर्ति बनाउने, घोडसवार पनि बनाउने योजना बनाइएको छ । संरचनाहरु थपिएपछि बन्दीपुरसहित मन्दिर आउने पर्यटक बढ्ने अपेक्षा छ ।’

मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ । सल्लाका रुखले डाँडाको हरियाली र शोभा दुवै बढाएको छ । डाँडामा मन्दिर स्थापना हुनुभन्दा पहिले नै वृक्षरोपण गरिएको थियो । अहिले यो डाँडा बन्दीपुरको प्राकृतिक भ्युटावर बनेको छ । यहाँबाट दक्षिणतर्फ महाभारत पर्वत, उत्तरतर्फ हिमाल, गोर्खा, लमजुङका धेरै ठाउँ एकैसाथ अवलोकन गर्न सकिन्छ ।

थानीमाई पुग्न बन्दीपुर बजारबाट आधा घण्टा पैदल हिँड्नुपर्छ । भानु माविबाट सुरु हुने उकालोमा ढुंगाले छापीको सिँढी, रेलिङ र बीच बीचमा थकाइ मार्ने पाटी बनाइएका छन् । माथि पसल, क्याफे नभएकाले पिउने पानी र हल्का खानेकुरा लिएर जाँदा राम्रो हुन्छ । सूर्योदय र सूर्यास्त हेर्नका लागि उपयुक्त मौसम र समय मिलाएर जाँदा थानीमाई डाँडाको प्राकतिक सुन्दरताले मन मोहित हुन्छ ।

Leave A Reply

Your email address will not be published.