सुचना, समाचार र मनोरन्जन

नेपाली फिल्म ‘द ब्लू लाइट’मा श्रृष्टि श्रेष्ठको नेगेटिभ भूमिका

काठमाडौं :

नेपाली फिल्म क्षेत्रमा फरक विधाका रूपमा हेरिएको मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लू लाइट’ माघ १६ गते (शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ।

बलियो कलाकार समूहको अभिनय रहेको यस फिल्मले नेपाली सिनेमाको परम्परागत धारभन्दा फरक स्वाद दिने अपेक्षा गरिएको छ। फिल्ममा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशी मुख्य भूमिकामा छन्।  अभिनेत्री बेनिशा हमाल फिल्मलाई लिएर उत्साहित देखिन्छिन्। उनले ‘द ब्लू लाइट’ हालसम्म दर्शकले हेर्दै आएका फिल्मभन्दा फरक रहेको बताइन्।

“यो केही फरक छ, त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्त छ,” बेनिशाले भनिन्। फिल्मको कन्टेन्ट र प्रस्तुति मन परेकै कारण आफू कार्यकारी निर्माताको रूपमा पनि जोडिएको उनले स्पष्ट पारिन्।

यस फिल्ममा अभिनेत्री श्रृष्टि श्रेष्ठ भने ‘नेगेटिभ’ भूमिकामा देखिँदैछिन्। उनले ‘द ब्लू लाइट’ आफ्नो करिअरकै फरक र चुनौतीपूर्ण भूमिका भएको बताइन्।  “मेरो भूमिका एन्टागोनिस्ट प्रकृतिको छ। कथा र चरित्र दुवै गहिरा छन्,” श्रृष्टिले भनिन्, “यस्ता जटिल चरित्रले कलाकारका रूपमा धेरै कुरा सिक्न पाइन्छ।”

अभिनेता अर्पण थापाले ‘द ब्लू लाइट’ जस्ता फिल्म कमै बन्ने बताएका छन्। “यस्तो फिल्म घरीघरी बन्दैन। यस्ता फिल्म बनाउन बलिराम चौहानजस्ता निर्देशक चाहिन्छ,” अर्पणले भने। उनका अनुसार फिल्ममा प्रस्तुत पात्रको मनोविज्ञानले दर्शकलाई सोच्न बाध्य बनाउनेछ।

‘द ब्लू लाइट’मा सुरक्षा इटानी पनि मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन्। फिल्मको निर्देशन बलिराम चौहानले गरेका हुन्। यो उनको पहिलो निर्देशन हो। स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्मका सह–निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन्। कार्यकारी निर्मातामा नरेन्द्र मैनाली र बेनिशा हमाल छन्।

फिल्मको छायांकन नरेन्द्र मैनाली, मुख्य सहायक निर्देशन आकाश उखेडा, प्रोडक्सन डिजाइन रेलिजा श्रेष्ठ र निर्माण नियन्त्रण दिलीप पन्तले सम्हालेका छन्।

Leave A Reply

Your email address will not be published.