सुचना, समाचार र मनोरन्जन

सरिता भारती र प्रवण भुसालको फिल्म ‘द चेन्ज’लाई फेरि अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ :

अभिनेता प्रवण भुसाल र अभिनेत्री तथा गायिका सरिता भारती अभिनित नेपाली लघु फिल्म ‘द चेन्ज’ (परिवर्तन) ले अन्तर्राष्ट्रिय स्तरमा पुनः अवार्ड जित्न सफल भएको छ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सम्पन्न सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ मा फिल्मले सर्ट फिल्मतर्फ ‘स्पेसल मेनसन अवार्ड’ प्राप्त गरेको हो ।

माघ १६ देखि १८ गतेसम्म काठमाडौँका तीन स्थानमा आयोजना गरिएको महोत्सवमा ३९ देशका ८५ फिल्म प्रदर्शन गरिएको थियो । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित ग्रान्ड फिनाले अवार्ड समारोहमा अन्तर्राष्ट्रिय निर्णायक मण्डलले ‘द चेन्ज’लाई उक्त अवार्ड प्रदान गरेको हो ।

अवार्ड ग्रहण समारोहमा अभिनेत्री सरिता भारतीले महिनावारीका कारण अझै पनि नेपाली समाजमा महिलामाथि हुने विभेद र कुप्रथालाई फिल्ममार्फत प्रस्तुत गरिएको बताइन्। अभिनेता प्रवण भुसालले यस्ता सामाजिक कुप्रथाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आफूले फिल्ममा अभिनय गरेको बताए।

यसअघि पनि प्रवण र सरिता अभिनित ‘द चेन्ज’ ले बंगलादेशको बोगुरा सहरमा सम्पन्न छैटौँ बोगुरा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल मा ‘इन्टरनेशनल सर्ट इन्डोर’ विधातर्फ स्पेसल मेनसन अवार्ड जितेको थियो। उक्त महोत्सवमा पनि अभिनेता प्रवण भुसाल, अभिनेत्री सरिता भारती र निर्देशक डब्बु क्षत्रीले अवार्ड ग्रहण गरेका थिए।

त्यस्तै, दोस्रो ग्रामीण फिल्म फेस्टिभल मा ‘द चेन्ज’ ले उत्कृष्ट लघु फिल्मको अवार्ड जितेको थियो। सो महोत्सवमा यही फिल्मबाट प्रवण भुसाल उत्कृष्ट अभिनेता, सरिता भारती अभिनेत्री तर्फको जुरी अवार्ड तथा डब्बु क्षत्री उत्कृष्ट निर्देशक घोषित भएका थिए।

यसरी अभिनेता प्रवण भुसाल र अभिनेत्री सरिता भारती अभिनित ‘द चेन्ज’ ले हालसम्म एक राष्ट्रिय र दुई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्ड जितिसकेको छ। फिल्म अन्य अन्तर्राष्ट्रिय महोत्सवहरूमा समेत छनोट हुँदै गएको निर्माण पक्षको दाबी छ।

फिल्ममा प्रवण र सरितासँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा र सुरज अधिकारीको मुख्य भूमिका रहेको छ। निर्देशक डब्बु क्षत्रीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा ओम सुनारको पृष्ठभूमि संगीत,रामशरण उप्रेतीको छायांकन र वीरेन्द्र भाट ‘विपिन’को सम्पादन रहेको छ। फिल्म विलक्षण क्रिएसन प्रा.लि. को ब्यानरमा निर्माण गरिएको हो।

Leave A Reply

Your email address will not be published.