चितवन,
रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, छ बालक र दुई बालिकाको छ ।
त्यस्तै, ५५ जनाको शरीरका अङ्गहरु भेटिएका छन् । तीमध्ये २२ वटा पहिचान केन्द्रमा लगिएको छ भने बाँकी भरतपुर अस्पतालमा सफा गरेर राखिएको छ । केही शवको नदीमा मुचुल्काको काम भइरहेको उहाँले जानकारी दिनुभयो । तस्बिर खिचिएका शवको पहिचानका लागि ‘डिस्प्ले’ सुरु गरिएको छ । आफन्तहरुले सो ‘डिस्प्ले’मा हेरेर पहिचान गर्ने उपरीक्षक पौडेलले जानकारी दिनुभयो । ती शवको तस्बिर नेपाल प्रहरीको पोर्टलमा पनि राखिने उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका–१० स्थित भरतपुर अस्पताल नजिकै चितवन उद्योग सङ्घको आडमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण तथा पहिचान केन्द्रका रूपमा प्रयोग गरिएको छ । अस्पतालमा शव राख्न पर्याप्त स्थान नभएपछि उक्त भवनलाई शव संरक्षण तथा पहिचान कक्षका रूपमा प्रयोग गरिएको छ।
पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्रलगायत आवश्यक कागजातबाट यकीन गरिने उहाँले जानकारी दिनुभयो । पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिनेछ ।
चितवनतर्फका त्रिशूली र नारायणी किनारमा आज पनि बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले शवको खोजी गरिरहेका छन् ।
स्थानीय र बेपत्ताका परिवारले नदी किनारमा शव भेटेपछि सुरक्षा निकायलाई खबर आउनेक्रम पनि चलिरहेको उहाँले जानकारी दिनुभयो ।