अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई ‘उल्लेख्य रूपमा घटाउने’ बताएका छन्। उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो ‘धेरै राम्रो सम्बन्ध’ रहेको उल्लेख गर्दै यस्तो घोषणा गरेका हुन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा दक्षिण कोरियाले हालै इरानसँगको युद्धमा अमेरिकासँग सहकार्य गर्न अस्वीकार गरेको पनि उल्लेख गरेका छन्।
‘यी सैन्य अभ्यासहरू महँगा मात्र छैनन्, जसको ठूलो हिस्सा सामान्यतः अमेरिकाले नै ब्यहोर्छ, बरु यिनले पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश पनि दिन्छन्,’ ट्रम्पले लेखेका छन्। तर, दक्षिण कोरियाले अमेरिकासँगको संयुक्त सैन्य अभ्यास ‘निर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुने’ जनाएको छ। उत्तर कोरियाले भने ट्रम्पको घोषणाबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। यसअघि यही महिना उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएका ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।
ट्रम्पले आइतबार सामाजिक सञ्जालमा सैन्य अभ्यास रद्द गर्न ‘धेरै ढिला भइसकेको’ बताएका थिए। अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गर्ने तयारी गरेका थिए।
ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपतिसँग आफूले हालै ‘इस्लामिक रिपब्लिक अफ इरानको निःशस्त्रीकरणमा’ अमेरिकासँग सहभागी हुन चाहन्छ कि भनेर सोधेको र दक्षिण कोरियाले ‘होइन, धन्यवाद’ भनेको दाबीसमेत गरेका छन्।
ट्रम्पको पछिल्लो घोषणा गर्नुभन्दा २४ घण्टाभन्दा कम समयअघि उनले सन् २०१८ मा किम जोङ उनसँग खिचिएको पुरानो तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उनले उक्त तस्वीरमा आफूहरू ‘मित्रवत् नदेखिए पनि’ आफू र किम ‘निकै असल मित्र’ रहेको बताएका थिए।
गत साता अमेरिकी र दक्षिण कोरियाली सैन्य अधिकारीहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै उल्ची फ्रिडम शिल्ड सैन्य अभ्यासको घोषणा गरेका थिए। ११ दिनसम्म चल्ने उक्त अभ्यास अघिल्ला वर्षहरूकै हाराहारीमा हुने र त्यसमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने अधिकारीहरूले बताएका थिए।
पत्रकार सम्मेलनमा सैन्य अधिकारीहरूले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गर्न उत्तर कोरियाले आफ्ना सैनिक पठाएको विषय पनि उठाएका थिए। अमेरिकी सैन्य प्रवक्ता रायन डोनाल्डले युद्धभूमिबाट फर्कने उत्तर कोरियाली सैनिकबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखेर आफूहरूको प्रशिक्षण हुने बताएका थिए। दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ छन्।